तीनकुने पुलको ठेक्का तोड्न सिफारिस
काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ‘जेडआइसी पप्पु कन्सट्रसन’ ले तीनकुनेको आर्क पुल सम्झौता अनुसार निर्माण नगरेको भन्दै ठेक्का तोड्न सडक विभागमा सिफारिस गरेको छ । आयोजनाले उक्त पुलसँगै ठेक्का लगाएको बिजुली बजारको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेपनि तीनकुनेको लथालिंग अवस्थामा छ ।
आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदारले सम्झौता अनुसार काम नगरेकाले ठेक्का तोड्न सिफारिस गरिएको बताए । चार दिन अघि सडक विभागलाई पत्र लेखेर तीनकुनेमा निर्माणाधीन पुलको ठेक्कोदार कम्पनीसँगको सम्झौता तोड्न सिफारिस गरिएको श्रेष्ठको भनाई छ ।
आयोजनाका अनुसार पप्पुले तीनकुनेमा बाग्मतीमाथि निर्माण गरिरहेको पुलको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ठेकेदार कम्पनीले पुलको फाउन्डेसनको पाइल निर्माणमा रहेको गम्भीर त्रुटी सच्याउन बारम्बार अटेर गरेकाले ठेक्का तोड्नुपर्ने अवस्था आएको जनाएको छ ।
यो पुल निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माणकाे जिम्मा लिएकाे थियाे ।
शुरूमा डिजाइन र सम्झौता अनुरुप मापदण्ड मिचेर पुल बनाएपछि यो पुलको निर्माण लामोसमयदेखि रोकिएर फेरि सम्झौता भएको थियो । पहिले पप्पुले निर्माण अवधि गुजारेकाले पुल निर्माणमा ढिलाई भएको थियो भने हाल फाउन्डेसनको पाइल निर्माणमा रहेको गम्भीर त्रुटी रहेकाले ठेक्का नै रोकिएको छ ।