Connect with us
Kapilvast Forest

मेलम्चीको दैनिक पाँच करोड लिटर पानी वितरण हुने

२०८०, २९ पुष आईतवारमा प्रकाशित

मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले प्रधानमन्त्री ‘प्रचण्ड’ बाट शुभारम्भसँगै पानी उपत्यकावासीको धारामा पुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको छ । पानी सुन्दरीजल आइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिनेछ ।

पाँच करोड लिटर वितरण हुने

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रक्राशकुमार राईले पानी पुनः वितरण शुभारम्भ भएको दिन केयुकेएललाई पाँच करोड लिटर पानी प्राप्त हुने बताउँदै पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने जानकारी दिनुभयो । पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाउँदै क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिनेछ ।

पटक पटक उद्घाटन

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ तर त्यसले निरन्तरता पाउन सकेन । अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण गर्न लागिएको हो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकुटीमण्डपमा काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नुभएको थियो भने त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गर्नुभएको थियो । २०७९ मङ्सिर २३ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँको महाँकाल वितरण केन्द्रबाट पुनः पानी वितरणको शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ चौथो पटक पानी पुनः वितरणको शुभारभ्भ गर्दै हुनुहुन्छ ।

विसं २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सकिएको थियो तर त्यसपछि २०७८ असार १ र साउन १५ मा मेलम्ची खोलामा आएकोे भीषण बाढीपहिरोले आयोजनाको मुहान र हेडवर्क्समा ठुलो क्षति पु-याएको थियो ।

त्यसपछि बन्द रहेको मेलम्चीको पानी वितरण २०७९ वैशाख ११ देखि अस्थायी रूपमा सुरु गरिएको थियो । त्यसपछि बाढीपहिरोबाट क्षति हुन सक्ने भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी वितरण पुनः बन्द गरिएको थियो । त्यसपछि २०७९ मङ्सिर २३ गते मेलम्चीको पानी वितरण पुनः काठमाडौँमा सुरु गरिएको थियो । यो वर्ष (२०८०) गत साउन २७ र २८ गते आएको बाढीले आयोजनाको हेडवर्क्समा क्षति पु-याएपछि पानी वितरण बन्द छ ।

बाढीपहिरोको सम्भावना कायमै

भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बास्कोटाले गत साल बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएको हुनाले बाढीपहिरोको सम्भावना कायमै रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म टरेको छैन ।”

उहाँले भन्नुभयो, “भेम्बाथानको माथिबाट आउने पहिरो भेम्बाथानमा नै रोकिन सक्छ तर भेम्बाथानको तल पनि पहिरो जान सक्ने थुप्रै स्थान पहिचान भएका छन् । जहाँ यो वर्ष पहिरो जान सक्छ । पहिरो जान सक्ने स्थानको पहिचान गरिए पनि अहिलेसम्म रोकथामको कुनै उपाय अपनाउन नसकिएको छैन ।” सर्वसाधारणका लागि सार्वजनिक स्थलमा सुरु गरिएका धारा सुकेका छन् । भृकुटीमण्डपमा निर्माण गरिएका तीन वटा ढुङ्गेधारा सुकेका छन् । भृकुटीमण्डप आउने आगन्तुकले निःशुल्क पानी खान पाउने गरी ठुलो तामझामसाथ ती धाराका उद्घाटन गरिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu