कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग कालापानीबाट भारतीय सेना हटाएरै छाड्ने चेतावनी दिएका छन्।
उनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दाबी समेत गरे।
प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने ठोकुवा गरेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरे।
‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, हाम्रो भूमिबाट छिमेकीले सेना फिर्ता लैजाऊन’, उनले भने।
“यो सरकारले हाम्रो भूमि कसैलाई एक इन्च मिच्न दिंदैन, हामीलाई अरुको पनि एक इन्च जमिन चाहिन्न”, प्रधानमन्त्री ओलीले भने।
दुनियाँमा शान्ति सेना पठाएर शान्ति स्थापनाको भूमिका खेलिरहेको नेपालले संवादको माध्यमबाट सीमा विवाद समाधान गर्न चाहेको प्रधानमन्त्री ओलीले बताएका छन्।