उपनिर्वाचनकाे प्रचारप्रसारमा तीव्र प्रतिस्पर्धा
रञ्जन भण्डारी,महोत्तरी । महोत्तरीमा उपनिर्वाचनका लागि प्रचार प्रसारमा जुटेका राजनीतिक दलहरु कोणसभादेखि घरदैलो कार्यक्रम तथा अन्य विभिन्न प्रकारले प्रचारप्रसारमा तीव्र प्रतिस्पर्धा देखिएकाे छ ।
कार्तिक २७ गते भएको उम्मेदवारी दर्ताकै दिनदेखि मतदाता फकाउन शुरु गरेका राजनीतिक दलहरुले उपनिर्वाचनलाई नाकको लडाइँमा परिवर्तन गरेको देखिएको छ ।
पिपरा गाउँपालिका अध्यक्ष र बल्वाका दुई तथा मटिहानीको एक वडाका लागि भइरहेको उपनिर्वाचनमा अधिकांश केन्द्रीय स्तरका नेताहरुको जिल्ला दौडाहाले गति लिएको छ । उम्मेदवारी दर्ताको केही दिन अगाडिमात्र उम्मेद्वार समेत चयन नगरेकै अवस्थामा नेकपा अध्यक्ष प्रचण्डले पिपरा आएर आफ्नो पार्टीलाई मतदान गरी जिताए पिपरालाई नमुना गाउँपालिका बनाउने प्रतिवद्वता जनाउनुभएको थियो ।
हालै उपनिर्वाचनमा आफ्नो स्थानीय उम्मेद्वारलाई विजय बनाउन माधव नेपाल, डा. बाबुराम भट्टराई र बिमलेन्द्र निधीले समेत आमसभा गरी मत मागिसक्नुभएको छ ।
त्यसैगरी, डा. सिके राउतले पनि मत माग्नका लागि ठूलै सभा गरिसक्नुभएको छ । अधिकांश दलका शीर्ष नेताहरुले अर्को पार्टीको कमीकमजोरी निकाल्दै र जातिय दुहाई समेत दिई मत मागिरहेको देखियो भने डा. सिके राउतले राजपा उम्मेद्वार रविता चौधरीलाई अपमानित गर्दै पाइलटको श्रीमतिलाई प्लेन उडाउन दिन नसकिने भन्दै नेताको श्रीमतिलाई किन मतदान गर्ने भनेर भाषण गर्नुभएको थियो ।
उपनिर्वाचनका लागि राजपा र फोरम तथा अन्य दलहरुबाट समेत शीर्ष नेताहरु पिपरा तथा बल्वा र मटिहानीमा आउने क्रम अझै जारी छ । प्रदेशका मुख्यमन्त्री समेत आउन सक्ने सम्भावना अत्याधिक छ ।
महोत्तरीमा चार पदका हुने उपनिर्वाचनका लागि १९ मतदान केन्द्र र २९ मतदान स्थल तोकिएको छ ।
यस मतदान केन्द्रका लागि कुल २२ हजार ९ सय २० मतदाता रहेका छन् । पिपरा गाउँपालिकामा २० र बल्वा तथा मटिहानीमा २६ उम्मेद्वार गरी कुल ४६ उम्मेद्वारकाबीच प्रतिस्पर्धा हुँदैछ ।