नेपाली कांग्रेसमा एक सय जना प्रवेश
न्यूजसेन्टर नेपाल,
कपिलवस्तु – नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) को आयोजनामा शिवराज नगरपालिका-३, बसन्तपुर चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममार्फत विभिन्न पार्टी परित्याग गरी १०० जनाभन्दा बढी व्यक्तिले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै नेपाली कांग्रेसको मुल्यमान्यता र जनसेवामा योगदानबारे प्रकाश पार्नुभयो ।
उहाँले नेपाली कांग्रेसले सधैं जनताको दुःखसुखमा साथ दिँदै आएको र सरकारमा रहँदा आफूले कपिलवस्तु क्षेत्र नम्बर ३ का विकासका लागि महत्वपूर्ण बजेट विनियोजन गरेको बताउनुभयो ।
पूर्वमन्त्री आचार्यले सिँचाइका लागि बोरिङ, नहर, कुलो निर्माणलगायतका योजनामा बजेट छुट्याएर किसानहरूलाई सुविधा पुर्याएको दाबी गर्नुभयो ।
सेखुनिया बाँध सिँचाइ योजनाले अहिले किसानहरूको जीवनस्तर सुधारमा ठूलो योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला उपसभापति हुमाकान्त खनालले नेपाली कांग्रेसले सबै नागरिकका हकहितका लागि काम गर्दै आएको र पार्टीले आगामी दिनमा पनि जनताका समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) का क्षेत्रीय सभापति गोविन्द केसीले गर्नुभएको थियो ।
सो कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमिति सदस्य रोमलाल खनाल, वरिष्ठ नेता भवनराज पौडेल, जिल्ला सचिव शक्तिसिंह ठकुरी, जिल्ला सदस्य केशव पाण्डे, नेता केशरी चौहान, हरि पोख्रेल, विनोद नेपाल, विष्णु पोखरेल, शिवप्रसाद चौधरी, मेघराज रेग्मी, शिवशंकर चौहान, सन्दीप यादव, र गंगाधर भट्टराईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसमा नागरिकहरूको विश्वास र आकर्षण बढ्दै गएको झल्को देखिएको थियो । नवप्रवेशी कार्यकर्ताहरूले पार्टीको नीति, विचार र नेतृत्वप्रति पूर्ण आस्था रहेको बताएका छन ।