Connect with us
Kapilvast Forest

स्थानीय तहमा सूचना प्रौद्योगिकीको प्रारम्भिक अवस्था

२०८१, १६ माघ बुधबारमा प्रकाशित

नेपालको स्थानीय सरकारको कार्यप्रणाली र प्रशासनिक सेवा प्रवाहमा सूचना प्रौद्योगिकीले गहिरो प्रभाव पारेको छ । नेपालमा सूचना प्रौद्योगिकीको प्रयोग सरकारी क्षेत्रमा २०औँ शताब्दीको अन्त्यतिर मात्र सुरु भयो । त्यस समय प्रौद्योगिकीको प्रयोग सीमित सरकारी निकायमा मात्र देखिन्थ्यो । स्थानीय तहमा सफ्टवेयर र डिजिटल प्रणालीको सुरुवात भने अझै नयाँ अवधारणा थियो । ०६० पछि नेपालमा ‘डिजिटाइजेसन’को गति तीव्र बन्न थाल्यो । सरकारका तर्फबाट ‘इ–गभर्नेन्स’ र ‘डिजिटल नेपाल’ कार्यक्रम ल्याइयो । यसले स्थानीय तहलाई अनलाइन प्लेटफर्ममार्फत सेवा दिन प्रेरित गर्‍यो ।

डिजिटल प्रणालीले कर संकलन, तथ्यांक व्यवस्थापन तथा प्रशासनिक कार्यलाई सजिलो बनाउने प्रयास गर्‍यो। केही स्थानीय तहमा डिजिटल प्रणालीको प्रयोगले प्रभावकारी परिणाम पनि दियो । तर, प्रणाली जडानमा पर्याप्त योजना र प्राविधिक आधारको अभावका कारण दीर्घकालीन समस्या देखा पर्‍यो  । निजी क्षेत्र र सरकारी निकायले प्रविधिको सम्भावना बुझ्न थालेपछि स्थानीय तहलाई डिजिटल बनाउने योजना अघि बढ्यो । डिजिटल प्रणालीले पारदर्शिता र दक्षता बढाउने अपेक्षा गरिए पनि यसको प्रभावकारी कार्यान्वयनले अझै चुनौतीको सामना गरिरहेको छ ।
सफ्टवेयर र सूचना प्रौद्योगिकीको विकासको गति :०६० पछि नेपाल सरकारले विभिन्न योजना ल्यायो, जसमा स्थानीय तहका लागि सूचना प्रौद्योगिकीको प्रयोग वृद्धि गर्ने लक्ष्य थियो । ‘इ–गभर्नेन्स’ र ‘इ–लोकसेवा’ कार्यक्रमले स्थानीय तहलाई सूचना प्रौद्योगिकीमा समावेश गर्दै प्रशासनिक सेवा प्रवाहलाई अनलाइन बनाउने काम गरेको थियो । नेपाल सरकारको ‘स्मार्ट सिटी’ र ‘डिजिटल नेपाल’जस्ता परियोजनाले पनि स्थानीय तहका सफ्टवेयर र प्लेटफर्मको सुधारमा योगदान पुर्यायो ।

भ्रष्टाचार र सिन्डिकेटको चपेटा : स्थानीय तहमा सफ्टवेयर विकासमा आइटी पेसाको मर्यादा नबुझेका व्यक्तिको सहभागिता मुख्य समस्या हो । प्रायः स्थानीय तहको सफ्टवेयर समाधानमा ती व्यक्तिले गुणस्तर र प्राविधिक मापदण्डको ख्याल नगरी काम गर्ने प्रवृत्ति देखाउँछन् । यसको परिणामस्वरूप, अस्वस्थ प्रतिस्पर्धा र सिन्डिकेटको खेल उत्पन्न हुन्छ, जसले डिजिटाइजेसन प्रक्रियामा गुणस्तरीय सफ्टवेयरको चयनलाई अवरुद्ध बनाउँछ । जसले गर्दा, यस्ता सफ्टवेयर अस्थिर र अव्यवस्थित बनेका छन् र दीर्घकालीन समस्या सिर्जना गर्न सक्छन् ।

१. सार्वजनिक खरिद प्रक्रियाको कमजोरी : नेपालको सार्वजनिक खरिद नियमावलीले अधिकांश सरकारी सामान र सेवाको खरिद प्रक्रिया तोक्न परिमार्जन गरिसकेको भए पनि, सफ्टवेयर र प्रविधिका सेवा खरिदमा अझै पनि केही विशेष कठिनाइ छन् । सफ्टवेयर खरिद गर्दा भाउ निर्धारण र खरिद प्रक्रिया अन्य सामान र वस्तु खरिदजस्तै प्रक्रियामा चलाउन सकिन्न । सार्वजनिक खरिदका लागि बनाइएका नियमबारे धेरै असमझी र अस्पष्टता छन् जसका कारण सफ्टवेयर खरिद प्रक्रिया अलिक कठिन र लचिलो हुन सक्छ । सफ्टवेयरबारे अद्वितीय र विस्तृत सम्झौताका मापदण्ड अभावले कतिपय स्थानमा गलत चयन र प्रक्रियाका कारण खर्च बढी र गुणस्तर घट्ने अवस्था सिर्जना भएको छ । यसका लागि नेपालमा सफ्टवेयर र प्राविधिक सेवा खरिद गर्ने प्रक्रिया तदारुक र पारदर्शी बनाउन विशेष परिवर्तन आवश्यक छन् । सार्वजनिक खरिद नियमावलीमा सफ्टवेयर र प्रविधि खरिदको परिभाषा, मापदण्ड, मूल्य निर्धारण र समग्र प्रक्रियामा सुधार गरेर ती समस्या समाधान गर्न सकिन्छ । स्थानीय तहको इतिहास र डिजिटाइजेसनमा भएका चुनौतीको विश्लेषण गर्दा प्रमुख रूपमा भ्रष्टाचार, आइटी पेसाको मर्यादा उल्लंघन र खरिद प्रक्रियामा कमजोरीजस्ता समस्या प्रकट भइरहेका छन् । स्थानीय तहको सफ्टवेयर खरिद र डिजिटाइजेसन प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट र दलालीको खेल तथा सार्वजनिक खरिद नियमावलीको कमजोरीले गर्दा वास्तविक, उच्च गुणस्तरीय सफ्टवेयर समाधानको कार्यान्वयनमा अवरोध खडा गरिएको छ ।

२. सिन्डिकेटको समस्या : नेपालको आइटी क्षेत्रबाहिरका केही पत्रकार, राजनीतिज्ञ र अन्य व्यक्तिहरू सफ्टवेयर खरिद प्रक्रियामा हस्तक्षेप गर्ने गरेको देखिन्छ । यस्ता व्यक्ति भ्रष्टाचारको अवसर सिर्जना गर्न सिन्डिकेट बनाउँछन्, जसले सार्वजनिक खरिद प्रक्रियामा अनियमितता ल्याउँछ । यी व्यक्तिले गुणस्तरभन्दा पैसामा ध्यान दिन्छन्, जसका कारण स्थानीय तहको डिजिटाइजेसनमा समस्या आउँछन् । स्थानीय तहको इतिहास सूचना प्रौद्योगिकीको (आइटी) दृष्टिकोणबाट हेर्दा एक महŒवपूर्ण रूपान्तरण प्रक्रिया भएको छ । सूचना प्रौद्योगिकीले नेपालको स्थानीय सरकारको कार्यप्रणाली र प्रशासनिक कार्यमा गहिरो प्रभाव पारेको छ ।

३. प्राविधिक ज्ञानको अभाव : स्थानीय तहमा कार्यरत केही कर्मचारी प्राविधिक दृष्टिले कमजोर र पुराना प्रणालीमा अडिएका छन् । यी कर्मचारीको अनुभव र दृष्टिकोणसँगै, तिनीहरू नयाँ प्रविधिमा दक्ष नभएका कारण, डिजिटाइजेसनमा सफलता प्राप्त गर्न कठिनाइ हुन्छ । नेपालका धेरै स्थानीय तहमा अझै पनि परम्परागत ढाँचामा काम भइरहेको छ, जसले गर्दा सफ्टवेयर र प्रणाली कार्यान्वयनलाई अवरुद्ध पार्छ । यस्ता कर्मचारीले नयाँ प्रणाली र सफ्टवेयरको महत्वलाई नबुझेको र प्रविधि प्रयोगमा सन्देह राख्ने प्रवृत्ति देखिन्छ । यसका परिणामस्वरूप, डिजिटल प्रणाली समावेश नगर्न चाहनु वा तिनको प्रभावकारी कार्यान्वयनमा बिघ्न पैदा गर्नु स्वाभाविक हो ।अर्कातर्फ, प्रविधिमा कमजोर कर्मचारीको स्थायित्व डिजिटाइजेसनका लागि प्रमुख चुनौती बनिरहेको छ । जबसम्म पुराना विचारधाराका कर्मचारीको उपस्थिति रहन्छ, स्थानीय तहमा प्रविधिको उपयोग र सुधार प्रक्रिया ढिलो हुने सम्भावना रहन्छ । यो अवस्था सुधार्न स्थानीय प्रशासनिक संरचनामा कार्यसम्पादन र प्राविधिक दक्षताको स्तर सुधार्नु आवश्यक छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुधारका उपाय : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासनको कसम खाएको छ । तर, यसले सूचना प्रविधि क्षेत्रमा भएको भ्रष्टाचारका मुद्दामा पनि विशेष ध्यान दिनु जरुरी छ । अहिलेको अवस्थामा, प्राविधिक मापदण्ड र सफ्टवेयर गुणस्तरको मापन गर्ने क्षमता भएका विशेषज्ञको कमीले गर्दा आयोगले यस क्षेत्रमा उपयुक्त कदम चाल्न सक्दैन । यस अवस्थामा आयोगको टोलीले प्राविधिक र सफ्टवेयर इन्जिनियरिङका विशेषज्ञको सहयोग लिनु अत्यावश्यक छ, जसले सही सफ्टवेयर चयन र गुणस्तरको मापदण्ड पालन गर्न सहयोग पुर्याउन सक्छ ।

१. विशेषज्ञ टोली गठन गर्नु : सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी मुद्दामा विशेषज्ञको टोली गठन गर्न आवश्यक छ । प्राविधिक विशेषज्ञको संलग्नताले सफ्टवेयरको गुणस्तर मापन र अनियमितताका मुद्दाको प्रभावकारी अनुसन्धान गर्न सहयोग पुग्छ ।

२. सार्वजनिक खरिद प्रक्रियामा सुधार : सबैभन्दा पहिले सफ्टवेयर खरिदको परिभाषा स्पष्ट पार्नुपर्छ । सफ्टवेयर खरिद प्रक्रियालाई भौतिक वस्तुको खरिदभन्दा अलग राखेर विशिष्ट प्रक्रिया निर्धारण गर्नुपर्छ । यसका लागि प्राविधिक मूल्यांकन बोर्डको स्थापना जरुरी छ । प्रत्येक सफ्टवेयर खरिदका लागि प्राविधिक मूल्यांकन बोर्ड गठन गर्नुपर्छ, जसमा आइटी विशेषज्ञको सहभागिता अनिवार्य हुनुपर्छ ।

भ्रष्टाचार र सिन्डिकेट अन्त्य गर्न रणनीतिक दृष्टिकोण :
१. डिजिटाइजेसनको नीतिगत आधार सुदृढ गर्नु :
 डिजिटाइजेसनका लागि स्पष्ट नीतिगत खाका तयार गर्न आवश्यक छ । सफ्टवेयर खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै ठुला परियोजनामा मात्र नभई साना कार्यान्वयनमा पनि प्राविधिक मापदण्डलाई प्राथमिकता दिनुपर्छ ।

२. कर्मचारीको दक्षता अभिवृद्धि : स्थानीय तहका कर्मचारीलाई प्राविधिक प्रशिक्षण उपलब्ध गराउनु जरुरी छ । तालिमले डिजिटल प्रणालीप्रतिको उनीहरूको सन्देहलाई कम गर्दै प्रविधिको प्रयोगप्रतिको आत्मविश्वास बढाउँछ ।

३. पारदर्शिता र उत्तरदायित्वमा जोड : डिजिटल प्रणालीमार्फत सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन ट्र्याकिङ प्रणालीमा लैजाने प्रयास गर्नुपर्छ । यो प्रणालीले भ्रष्टाचारको सम्भावनालाई कम गर्दै डिजिटाइजेसनमा पारदर्शिता ल्याउँछ ।नेपालमा स्थानीय तहमा सफ्टवेयर खरिद र कार्यान्वयन प्रक्रियामा देखा परेका विकृतिमध्ये एउटा गम्भीर समस्या भनेको व्यक्तिगत स्वार्थका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्ति हो । धेरैपटक कुनै कम्पनीलाई टेन्डर नपरेको वा स्थानीय तहले त्यसको सिफारिसलाई अस्वीकृत गरेको अवस्थामा ती कम्पनीले अख्तियारमा मुद्दा हाल्ने धम्की दिने गरेको देखिन्छ । यसले सरकारी कर्मचारीलाई अत्यधिक त्रसित बनाएको छ । उनीहरू कुनै पनि फाइल अघि बढाउँदा त्यो फाइलसँग सम्बन्धित मुद्दा उठ्ने डरले निर्णय प्रक्रियामा ढिलासुस्ती गर्न बाध्य छन् । यस्तो वातावरणमा वास्तवमै राम्रो सफ्टवेयर समाधान दिन चाहने र प्राविधिक काममा सक्षम कम्पनी, जो अनैतिक अभ्यास जान्दैनन्, ती सिन्डिकेट र राजनीतिक हस्तक्षेपको चपेटामा पर्छन् ।

पुराना र अव्यवस्थित सफ्टवेयर प्राविधिक मूल्यांकनविना मात्र राम्रो मार्केटिङ रणनीति र सिन्डिकेटको दबाबमा खरिद हुने समस्या पनि सामान्य भएको छ । यस्ता सफ्टवेयरले कार्यान्वयनका क्रममा समस्या मात्र थप्छन् । प्रशासनिक प्रक्रियालाई सुधार गर्न खरिद गरिएका सफ्टवेयरले उल्टै काममा झन्झट थप्ने अवस्था सिर्जना भएकोसमेत देखिन्छ । अख्तियारको यसमा महत्वपूर्ण भूमिका रहनुपर्छ । यो निकायले वास्तविक अनियमितता र भ्रष्टाचारको छानबिन गर्नका लागि प्राविधिक मूल्यांकनको आधार अपनाउनुपर्छ, तर कर्मचारी र सफ्टवेयर सेवा प्रदायकलाई अनावश्यक डर देखाउनुहुँदैन । सिन्डिकेट तोड्न, पारदर्शी प्रक्रिया सुनिश्चित गर्न र प्राविधिक दृष्टिकोणलाई प्राथमिकतामा राख्दै खरिद प्रक्रियामा सुधार ल्याउन अख्तियारको सक्रियता अनिवार्य छ । स्थानीय तहको डिजिटाइजेसनलाई सफल बनाउन, अख्तियारले कर्मचारी र सेवा प्रदायकको डर अन्त्य गर्दै सही निर्णय गर्न सहयोग पु¥याउने वातावरण बनाउन जरुरी छ । यो केवल प्राविधिक मूल्यांकन र पारदर्शितामा आधारित प्रक्रियाले मात्र सम्भव छ ।

निष्कर्ष : स्थानीय तह डिजिटाइजेसनमा भएका त्रुटि, भ्रष्टाचार र सिन्डिकेटले नेपालमा प्रविधिको विकास र यसको प्रभावकारी कार्यान्वयनमा ठुलो समस्या खडा गरेको छ । यस्ता समस्याको समाधानका लागि प्राविधिक सुधार, नीति–निर्माण र गुणस्तरीय सफ्टवेयरको छनोटलाई प्राथमिकतामा राख्नुपर्छ । डिजिटाइजेसनले मात्र स्थानीय तहलाई पारदर्शी, जवाफदेही र सेवा प्रवाहमा प्रभावकारी बनाउन सक्छ । तर, यसको लागि स्पष्ट रणनीति, दीर्घकालीन सोच र प्राविधिक दक्षता अभिवृद्धि अनिवार्य छ ।

नयाँ पत्रीका बाट सावार

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu