सार्वजनिक अभिव्यक्तिहरूमा पनि उनले राष्ट्रिय राजनीतिका विषयहरूमा आफू सधैं सक्रिय रहेको बताइन् । धेरैले चासोका साथ हेरेको विषयमा भने पत्रकार सम्मेलनमार्फत पूर्वराष्ट्रपति भण्डारीले भनिन्– मैले पार्टीको सक्रिय राजनीति गर्दा नेकपा एमालेबाटै गर्ने हो ।
विराटनगर, पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक यात्रा थालेको शहर पनि हो । २०३० को दशकमा भोजपुरबाट विराटनगर झरेकी विद्या भण्डारीले महेन्द्र मोरङ क्याम्पसबाटै विद्यार्थी राजनीति थालेकी थिइन् । उक्त क्याम्पसमा उनी स्ववियू कोषाध्यक्ष समेत भइन्
स्ववियु कोषाध्यक्ष भएर बढेको उनको राजनीति एमालेको दुईपटक केन्द्रीय उपाध्यक्ष, रक्षा मन्त्री हुँदै दुईपटक राष्ट्रपतिसम्म पुग्यो । अहिले (२०७९ फागुनदेखि) पूर्वराष्ट्रपतिको हैसियतमा रहेकी भण्डारीले यसपटक विराटनगर जाँदा महेन्द्र मोरङ क्याम्पसमा आफू कोषाध्यक्ष रहँदाका विद्यार्थी नेताहरूसँग पनि भेटिन् ।
पुराना दिन सम्झाउनेगरी उनले पूर्व घरबेटीलाई भेटिन् । तर भेटघाटको अधिकांश समय राजनीतिक नै थियो । एमाले मोरङका एक नेताका अनुसार एक साताको विराटनगर बसाईमा भएको भेटवार्ता विश्लेषण गर्दा भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी रहेकै सहज अनुमान लगाउन सकिन्छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालै चिढ्याउने पक्षमा भने पूर्वराष्ट्रपति भण्डारी देखिँदैनन् । तर परिस्थिति हेरेर अघि बढ्ने संकेत दिएकी छन् । आफू सक्रिय राजनीतिमा आउँदा वाम ध्रुवीकरणको वातावरण बन्ने भण्डारीको विश्लेषण छ ।‘स्वभाव र शैलीका कारण केपी शर्मा ओलीको नेतृत्वमा वाम ध्रुवीकरण सम्भव छैन, तर विद्या कमरेड आउँदा त्यो वातावरण बन्छ,’ ती नेताले भने, ‘विद्या कमरेडप्रति माओवादी केन्द्र र एकीकृत समाजवादी सफ्ट छ ।’भण्डारी राजनीतिमा आउँदा ओलीबाट पेलिएका नेताहरुमा संरक्षण पाउने आश रहेको ती नेताको भनाई छ । विराटनगरमा रहदा उनले ओलीको साथ नपाएका नेताहरूसँग पनि भेटघाट गरिन् । भेटघाटको वातावरण एमाले नेता विनोद ढकालले मिलाएका थिए ।