ठमेलमा प्रहरी कुट्ने एमालेका दुई विद्यार्थी नेता पक्राउ, मुख्य योजनाकार कमल जोशी फरार
काठमाडौ
ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा एमालेका दुईजना विद्यार्थी नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अस्कलक्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष दिनेश सिग्देल र अर्का रमेश फुलारा रहेका छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत रहेका छन् ।
उनीहरुले ठमेलमा ड्युटीमा खटिएको दरबारमार्गस्थित केशरमहल बिटको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो ।आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
कुटपिटका मुख्य योनजनाकार अनेरास्ववियुकै स्थायी कमिटी सदस्य तथा अस्कलको पूर्वस्ववियु सभापति कमल जोशी भने फरार रहेको प्रहरीले जनाएको छ ।