अनुमती विनै शिवराजद्वारा राजमार्गमा गमला, सडकमा स्टन्ट्बाजी, डिभिजनले कारबाही गर्ने
न्यूज सेन्टर नेपाल, कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिकाले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रौटा बजार क्षेत्रमा सडक डिभिजन कार्यालयको अनुमति विना गमला र डिभाइडर जस्ता संरचना राखेपछि सडक डिभिजन कार्यालय, शिवपुरले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ।
पूर्वपश्चिम राजमार्गमा सडकको दुवैतर्फ वा बीचमा कुनै संरचना राख्न नपाइने कानुनी प्रावधान छ । तर, शिवराज नगरपालिकाले जबरजस्ती संरचना राखेको भन्दै सडक डिभिजन कार्यालय शिवपुरका प्रमुख इन्जिनियर सबिन कोइरालाले प्राविधिक टोली पठाई सत्य तथ्य संकलन गरी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
इन्जिनियर कोइरालाका अनुसार, “हामीले प्राविधिक टोली खटाएका छौं । वास्तविकता बुझेर आवश्यक कानुनी कारबाही अघि बढाइनेछ ।”

सूचना अधिकारी विवेक ।।
पालिकाले २०८१ साल चैत्र १७ गते सडक डिभिजन कार्यालयलाई पत्र पठाएको दाबी गरेको छ। तर, सडक डिभिजनका सूचना अधिकारी विवेक कुँवरले भने सो पत्रबारे कुनै जानकारी नभएको बताएका छन ।
पालिकाले तौलिहवामा राखिएको डिभाइडर समेत जानकारी नदिई चन्द्रौटामा ल्याएको र उक्त विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो ।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले भने सडक डिभिजन कार्यालयलाई पत्र पठाइएको र मौखिक समन्वय भएको दाबी गर्नुभयो ।तर, अनुमति पत्र किन नलिएको भन्ने प्रश्नमा पौडेलले जवाफ दिनुभएन ।
चन्द्रौटाका स्थानीय बासिन्दाहरूले सडक बीचमा अनाधिकृत रुपमा राखिएको गमला र डिभाइडरलाई नगरप्रमुख अजय थापाले ‘स्टन्टबाजी’ गरेको भन्दै आलोचना गरेका छन ।विज्ञहरूले समेत सडक डिभिजन कार्यालयले मात्र गर्न मिल्ने काम नगरपालिकाले जबरजस्ती गरेर कानुनी प्रक्रिया उल्लंघन गरेको भन्दै आलोचना गरेका छन । यसबिच, अनुमति नलिई राखिएको गमलामा शिवराज नगरपालिकाले फूल रोप्ने कार्यक्रमसमेत आयोजना गरेको छ ।