“परम्परागत ज्ञानमा दिगो भविष्य सम्भव छ” – राज्यमन्त्री विक
काठमाडौं – वन तथा वातावरण राज्यमन्त्री रुपा विकले परम्परागत ज्ञान र स्थानीय नेतृत्वमा आधारित संरक्षण प्रणालीलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंमा आयोजित “समावेशी संरक्षण: नेपालको आदिवासी जनजातिहरूको योगदान, नेतृत्व र चुनौतीहरू बुझ्न” विषयक कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस्तो धारणा राख्नु भएको हो ।
राज्यमन्त्री विकले भन्नुभयो, “नेपाल जैविक र सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यो विविधता संरक्षण गर्न आदिवासी समुदायहरूको परम्परागत ज्ञान र योगदानलाई नबुझी कुनै पनि राष्ट्रिय रणनीति पूर्ण हुन सक्दैन ।”
उहाले भन्नुभयो, “राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (NBSAP) अद्यावधिक गर्ने क्रममा आदिवासी, महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता अनिवार्य छ ।
संरक्षण अधिकारमा आधारित हुनुपर्छ, जसले ‘पूर्व सहमति, स्वतन्त्र र सूचित सहमति’ (FPIC) को मापदण्ड पुरा गरोस् ।”
राज्यमन्त्रीले समुदाय बन, धार्मिक स्थल, र परम्परागत भूमिहरूलाई Other Effective Area-based Conservation Measures (OECMs) अन्तर्गत राखी संरक्षणका वैकल्पिक तर प्रभावकारी उपायहरूलाई नीतिगत रूपमा मान्यता दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यशालामा विज्ञ, समुदाय प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । वक्ताहरुले स्थानीय तहमा सञ्चालन भइरहेका संरक्षण प्रयासहरूलाई नीति निर्माणमा समावेश गर्न सुझाव दिएका छन् ।
कार्यक्रम अन्तर्राष्ट्रिय केन्द्र (ICIMOD) र राष्ट्रिय आदिवासी महिला मञ्च (NIWF) को आयोजनामा सम्पन्न भएको हो 