काठमाडौँ –
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार बस्दैछ। मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको प्रदेश सभा सचिव पुनमगरले बताए।
मंगलबार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस्’ प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको थियो।