Connect with us
Kapilvast Forest

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं –

नेपाल सरकारले घरेलु श्रमिकका रूपमा कुवेत जान प्रतिबन्ध लगाएको छ, तर यो प्रतिबन्ध कागजमा मात्र सीमित देखिन्छ ।हाल करिब ६० हजारभन्दा बढी नेपाली महिला कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएका छन् । तीमध्ये अधिकांश अवैध रूपमा गएका हुन् ।‘भिजिट भिसा’ आवरणमा नयाँदिल्ली र दुबईको बाटो प्रयोग गरी एजेन्टले दैनिक सयौँ महिलालाई कुवेत पुर्‍याइरहेका छन् । यसरी अवैध जाने श्रमिकलाई राज्यले चिन्दैन । कुवेतमा अलपत्र परे वा समस्यामा परेका बेलामा पनि राज्यको उपस्थिति देखिँदैन ।

कुवेत पुगेको केही समयभित्रै नेपाल फर्काउन उनीहरूको हारगुहार सुनिन्छ । तर, राज्य भने विनाकागजात तथा श्रम स्वीकृति नलिई गएको भन्दै उद्धारबाट पन्छिने गरेको छ । त्यसरी उद्धारको माग गर्दै उनीहरूका श्रीमान तथा घरपरिवारबाट वैदेशिक रोजगार विभाग तथा विभिन्न संघसंस्थामा पुग्ने गरेका छन् ।

कसरी पुग्छन् नेपाली महिला कुवेत ?

यो अवैध यात्राको सञ्जाल नेपालबाटै सुरु हुन्छ । वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार नेपालका एजेन्टले महिलालाई दुबई घुम्न जाने बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाउँछन् ।विमानस्थलमा ‘सेटिङ’ मिलाइएको हुन्छ र उनीहरूलाई ५ सयदेखि १ हजार अमेरिकी डलरसम्म गोजीमा हालिदिएको हुन्छ, जुन दुबई पुग्नेबित्तिकै त्यहाँको एजेन्टले फिर्ता लिन्छ ।

‘विमानस्थलमा फाटेको चप्पल र सामान्य लुगामा आउनेलाई पनि सेटिङका आधारमा जान दिइन्छ,’ गोलेले भने, ‘दुबई पुगेपछि त्यहाँबाट फेरि भिजिट भिसामा कुवेत पठाइन्छ ।’कुवेत पुगेपछि त्यहाँका एजेन्टको कार्यालयमा महिलालाई भेडाबाख्रा जस्तै थुपारिन्छ र उनीहरूको उमेर र सुन्दरता हेरेर ३ लाखदेखि साढे ३ लाख नेपाली रुपैयाँ (६०० देखि ७०० कुवेती दिनार) मा दुई वर्षका लागि ‘बेचिन्छ’ ।

नेपालको एयरपोर्टमा के के भन्ने हो भनेर सबै सिकाइन्छ । दलालले उता एयरपोर्टमा सबै सेटिङ मिलाइसकेका हुन्छन् । सोही आधारमा भिजिट भिसामा जान आवश्यक ५ सय डलरसमेत त्यही दलालले गोजीमा राखिदिन्छन् ।

नरकीय जीवन र बन्धकको अवस्था

एकपटक कुवेती मालिकको घरमा पुगेपछि नेपाली महिला श्रमिकको जीवन बन्धक जस्तै बन्छ । धेरैजसो महिलाले शारीरिक तथा मानसिक हिंसा, कुटपिट, यौन दुर्व्यवहार, पर्याप्त खाना नपाउने र २४ घण्टामा १८ देखि २२ घण्टासम्म काम गर्नुपर्ने जस्ता समस्या भोग्ने गरेका छन् ।‘सबैभन्दा ठूलो समस्या भनेको घरमै बन्धक बनाइनु हो । उनीहरूलाई कोठामा थुनेर राखिन्छ र आवश्यक परेका बेलामात्र काममा लगाइन्छ,’ गोलेले भने ।

केही प्रतिनिधि पात्र

नुवाकोटकी गंगा (सांकेतिक नाम) एक वर्ष अगाडि कुवेत पुगिन् । घरेलु कामका लागि नेपाली एजेन्ट कमल धिमालले उनलाई कुवेतस्थित नेपाली एजेन्ट गीता थापाकहाँ पुर्‍याए ।भिजिट भिसामार्फत गएकी उनी ३/४ महिना अगाडि घर परिवारको सम्पर्कबाट बाहिर गइन् । बन्धक बनाएर कुटपिट गर्ने गरेको भन्दै उनले आफ्नो उद्धार गरिदिन भन्दै घरपरिवारमा गुहार मागिन् ।

त्यसपछि उनका दाजु तीर्थमान तामाङले उद्धार गरिदिन अनुरोध गर्दै वैदेशिक रोजगार उद्धार नेपालमा निवेदन दिएका छन् । उक्त निवेदनमाथिको कारबाही अघि बढेको उद्धार नेपालका अध्यक्ष गोलेले जानकारी दिए ।

म्याग्दीकी लक्ष्मी (सांकेतिक नाम) ५ महिना अगाडि कुवेत गएकी थिइन् । भिजिट भिसामार्फत कुवेत पुगेकी लक्ष्मीले उद्धारका लागि निवेदन दिएकी छिन् । पोखराका राम विकमार्फत कुवेत पुगेकी उनलाई कुवेती एजेन्ट गीता विकले काम लगाइदिने भनेकी थिइन् ।

कुवेत पुगेपछि कामज्वरो आउने, खाना नरुच्ने भएकाले काम गर्न नसक्ने बताउँदै उनी काममा जान छाडिन् । तर, उनलाई अफिसमा लैजाने, फर्काउने गर्ने गरिएको थियो ।उनको नाक मुखबाट रगत आउने गरे पनि उपचारको व्यवस्था नगरिएपछि उनले उद्धारको माग गरेकी थिइन् । सोही अनुसार उनका ससुरा वलीप्रसाद कामीले उद्धारका लागि निवेदन दिएका थिए ।

गोरखाकी सुनिता (सांकेतिक नाम) पनि भिजिट भिसामार्फत कुवेत पुगिन् । कुवेत गएपछि उनी बिरामी परिन् । बिरामी भई काम गर्न नसक्ने हुनुका साथै घरमा उनका श्रीमान् समेत बिरामी थिए । जसले गर्दा उनले उद्धार गरिदिन अनुरोध गरेकी थिइन् ।

गंगा, लक्ष्मी, सुनिता जस्ता सयौँले नेपाली घरेलु श्रमिकले कुवेतबाट उद्धारका लागि अपिल गर्दैै आएका छन् । उद्धार नेपालमा त्यसरी ४ सयभन्दा बढी पीडितको निवेदन फाइल रहेको अध्यक्ष गोलेले जानकारी दिए ।

कुवेतका लागिमात्र नभई इराकबाट समेत उद्धारका लागि अनुरोध गर्दै निवेदन दिनेको संख्या उत्तिकै छ । अध्यक्ष गोले राज्यले नसक्ने काम आफूहरूले गर्दै आएको बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा विशेषगरी नयाँ जाने महिलाहरू भाषा, सिप र सांस्कृतिक ज्ञान अभावमा बढी समस्यामा पर्ने गरेको बताउँछन् । समस्यामा परेपछि उनीहरू घरबाट भागेर अवैध बन्न पुग्छन्, जसले गर्दा उनीहरूको अवस्था झनै जटिल बन्ने गरेको उनको भनाइ छ ।

उद्धारको जटिल प्रक्रिया : जसले बेच्यो, उसैसँग गुहार

पीडित महिलाको उद्धार प्रक्रिया अत्यन्तै जटिल छ । अध्यक्ष गोले भन्छन्, ‘एजेन्टविना विदेशबाट मान्छे ल्याउन सम्भव नै छैन । जसले गैरकानुनी रूपमा पठाएको हो, उसैलाई समातेर, फकाएर र उसैमार्फत पैसा तिरेरमात्र उद्धार गर्न सकिन्छ ।’

जब कुनै पीडितको उजुरी आउँछ, उद्धार संस्थाहरूले पहिले नेपालको एजेन्टलाई सम्पर्क गर्छन् । त्यसपछि उक्त एजेन्टले कुवेतको एजेन्टलाई सम्पर्क गर्छ र पीडित महिलालाई किनेको पैसा (साढे ३ लाखसम्म) मालिकलाई फिर्ता गरेपछि मात्र उनीहरू छुट्छन् । यो पैसा पीडितको परिवारले नै जुटाउनुपर्ने हुन्छ । ‘पैसा तिरेर मात्रै ल्याउन सकिन्छ । उनीहरूका लागि त्यो कानुनी हो, हाम्रो देशको लागि गैरकानुनी,’ गोलेले भने ।

कहिलेकाहीँ परिवारले पठाएको पैसा एजेन्टले लिएर सम्पर्कविहीन हुँदा अवस्था झनै खराब हुने गरेको छ । यस्तो अवस्थामा ‘वैदेशिक रोजगार उद्धार नेपाल’ जस्ता संस्थाले आर्थिक जोखिम मोलेर समन्वयकारी भूमिका खेल्ने गरेका छन् ।

सरकारी निकाय र संस्थाहरूको भूमिका

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार कुवेतमा हाल करिब १ लाख ६० हजार नेपाली छन् । तीमध्ये झन्डै ६० हजार घरेलु कामदार छन् भने बाँकी विभिन्न कम्पनीमा काम गर्छन् ।

नेपालबाट जाँदा प्रक्रिया अवैध भए पनि कुवेतको कानुन अनुसार भिसा पाउने भएकाले कुवेतमा भने गैरकानुनी मानिदैन । यसले गर्दा उनीहरूलाई र्ट्र्याक गर्न र उद्धार गर्न दूतावासलाई कठिनाइ हुन्छ । यद्यपि, दूतावासले विभिन्न निकायसँग समन्वय गरेर उद्धार प्रयास गर्दै आएको छ ।

एनआरएनए कुवेतले पनि पीडितलाई दूतावाससँग समन्वय गराउने, राहत दिने र आवश्यक सहयोग गर्ने काम गरिरहेको अध्यक्ष लामाले बताए ।

उद्धारका प्रयास भए पनि यो समस्याको चक्र रोकिएको छैन । ‘हामीले दुई जनालाई उद्धार गरेर ल्याउँछौं, तर माथिबाट २ सय जना फेरि बेचिएका (जान्छन्) हुन्छन्,’ गोलेले भने ।

गोले १७ वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएका छन् । उनको नजरमा हाल सबैभन्दा बढी समस्या कुवेत र इराकमा छ । इराकबाट समेत उद्धारका लागि सयौँको संख्यामा निवेदन आइरहेका छन् ।

कुवेतका लागि उद्धार गरिदिन अनुरोध गर्दै ४ सयभन्दा बढी निवेदन आएको तर अनौपचारिक माध्यमबाट ३ हजारभन्दा बढी अनुरोध आएको उनले बताए । कुवेत र इराकमा रहेका आफ्ना प्रतिनिधिमार्फत दूतावास, एनआरएनए लगायत निकायसँग समन्वय गरेर उद्धार गर्दै आएको गोलेको भनाइ छ ।

जबसम्म नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ‘सेटिङ’ र मानव तस्करीको जालो तोडिँदैन, तबसम्म नेपाली महिलाहरूको यो दर्दनाक अवस्था अन्त्य नहुने गोलेको भनाइ छ ।

 

साभार : अनलाईनखवर
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu