मोरक्कोमा चर्कियो नेपालकै जस्तो जेनजी आन्दोलन
काठमाडौं- विश्वका विभिन्न भागमा युवाहरूले आ-आफ्नो सरकारविरुद्ध सडकमा उत्रिने क्रम जारी छ। बंगलादेश, नेपाल, पेरु, मडागास्कर पछि अब मोरक्कोमा पनि विरोध प्रदर्शन र हिंसात्मक प्रदर्शन देखिएको छ।
मोरक्कोमा सरकार विरोधी प्रदर्शनकारीहरू बुधबार लगातार पाँचौँ रात सडकमा उत्रिएका छन्। विरोध प्रदर्शनमा हिंसा र तोडफोड भएपछि सुरक्षा बलहरूले बल प्रयोग गरेका छन् र सयौँको संख्यामा गिरफ्तारी गरिएको छ।
यो प्रदर्शनको सुरुवात सन् २०३० को विश्वकप तयारीमा सरकारले गरेको अत्यधिक खर्चको विरोधका रूपमा भएको थियो । यसले अहिले देशव्यापी रूप लिइसकेको छ।
समाचार संस्था एपीका अनुसार, मुस्लिम बाहुल्य देश मोरक्कोमा विरोध प्रदर्शनको नेतृत्व कुनै ठूलो नेता वा संगठनले गरिरहेको छैन। इन्टरनेट मार्फत युवाहरूले यसलाई अगाडि बढाएका छन्, त्यसैले यसलाई मोरक्कोको जेनजी प्रदर्शन भनिएको छ।
यो मोरक्कोमा पछिल्ला केही वर्षहरूमा भएका सबैभन्दा ठूला प्रदर्शनहरूमध्ये एक बनेको छ। प्रहरी अधिकारीहरूको व्यापक प्रयासका बाबजुद पनि सबै प्रमुख सहरहरूमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन्।
भ्रष्टाचार विरुद्ध आक्रोश
मोरक्कोको जेनजी विरोध प्रदर्शनमा भाग लिने युवाहरू देशमा व्याप्त भ्रष्टाचारविरुद्ध आक्रोशित छन्। प्रदर्शनकारीहरूले विशेष गरी सन् २०३० को विश्वकप तयारीका लागि अरबौँ डलर खर्च गरिएकोमा प्रश्न उठाएका छन्।
युवाहरूले विद्यालय र अस्पतालहरूसँग पर्याप्त बजेट नरहेको अवस्थामा सरकार फिफा (विश्वकप) को तयारीमा अरबौँ डलर खर्च गरिरहेको भन्दै रूष्ट बनेका हुन् ।