दलित समुदायको पुर्ख्यौली पेसा आधुनिक बनाउन १५ लाखसम्म अनुदान
काठमाडौँ –
सरकारले दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिक प्रविधिसँग जोड्न ठुलो आर्थिक प्याकेज ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम’ मार्फत प्रविधि सुधार गर्न चाहने उद्यमीलाई व्यक्तिगत रूपमा बढीमा ३ लाख र सामूहिक १५ लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको छ ।
हालै जारी गरिएको ‘भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार यो अनुदान रकम फिर्ता गर्नुनपर्ने गरी उपलब्ध गराइनेछ । पुर्ख्यौली पेसामा आबद्ध रहेर पनि आधुनिक मेसिन र उपकरणको अभावमा आर्थिक लाभ लिन नसकेका दलित समुदायका शिल्पकारहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो ।
कार्यविधिअनुसार परम्परागत रूपमा दलित समुदायले गर्दै आएका विभिन्न सिर्जनशील पेसाहरूलाई यस कार्यक्रमले समेटेको छ । जसमा बहुमूल्य धातु (सुनचाँदी) का आधुनिक र परम्परागत गहना निर्माणका उद्यमीले यो अनुदान लिन पाउने भएका छन् ।
कार्यविधिले प्रविधि स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छ । जसअन्तर्गत व्यक्तिगत रूपमा सञ्चालित उद्यमको प्रविधि सुधारका लागि बढीमा ३ लाख रुपैयाँ अनुदान दिइनेछ । यदि स्थानीय तहमा दर्ता भई समूहगत रूपमा उद्यम गर्दै आएका तथा उद्यम गर्न चाहने हो भने यस्तो अनुदान रकम बढीमा १५ लाख रुपैयाँसम्म पुग्न सक्ने कार्यविधिमा उल्लेख छ । यो रकम मुख्यतया आधुनिक मेसिनरी खरिद, उपकरणको स्तरोन्नति र उत्पादन वृद्धिमा खर्च गर्नुपर्ने कार्यविधिमा छ ।
पहिले ७ देखि ८ दिन लाग्ने कामलाई आधुनिक मेसिनको प्रयोगमार्फत केही घण्टामै सम्पन्न गरी उत्पादनको गुणस्तर र परिमाण बढाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
कुन–कुन पेसामा पाइन्छ अनुदान ?
कार्यविधिअनुसार परम्परागत रूपमा दलित समुदायले गर्दै आएका विभिन्न सिर्जनशील पेसाहरूलाई यस कार्यक्रमले समेटेको छ । जसमा बहुमूल्य धातु (सुनचाँदी) का आधुनिक र परम्परागत गहना निर्माणका उद्यमीले यो अनुदान लिन पाउने भएका छन् । यस्तै फलामसँग सम्बन्धित घरेलु औजार र भाँडाकुँडा निर्माण (आरन पेसा), तामा, ढलोट र सिल्भरका घरायसी सामग्रीहरू उत्पादन गर्ने उद्यमीलाई समेटेको छ ।
त्यसैगरी छालाजन्य सामग्री (जुत्ता, झोला) को उत्पादन र मर्मत, काष्ठकला (काठका सामग्री) र वाद्यवादनका सामग्री (मादल, पञ्चैबाजा आदि) निर्माण,व्यावसायिक सिलाइ–कटाइलगायत पेसामा आबद्ध व्यक्ति तथा समूहले अनुदान लिन सक्ने व्यवस्था कार्यविधिमा छ ।
अनुदान प्राप्त गर्न कस्तो चाहिन्छ योग्यता ?
अनुदान पाउन आवेदकको उमेर १६ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । साथै, आवेदक सम्बन्धित परम्परागत सीप र कलामा निरन्तर आबद्ध रहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । अनुदान वितरणलाई निष्पक्ष बनाउन प्रतिष्ठानले अंकभारका आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेको छ । जसमा पेसाको निरन्तरता, शैक्षिक योग्यता, व्यवसाय विस्तारको सम्भावना र प्रविधिसम्बन्धी ज्ञानलाई मुख्य आधार बनाइनेछ ।
इच्छुक उद्यमीले यो सूचना प्रकाशित भएको २१ दिनभित्र (अर्थात् २०८२ माघ ४ गतेसम्म) आवेदन दिनुपर्नेछ । आवेदनका लागि प्रतिष्ठानको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिनेछ । आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, दलित समुदायको प्रमाणित कागजात र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
यस्तो छ मूल्यांकन प्रणाली
अनुदान वितरणलाई निष्पक्ष बनाउन प्रतिष्ठानले अंकभारका आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेको छ । जसमा पेसाको निरन्तरता, शैक्षिक योग्यता, व्यवसाय विस्तारको सम्भावना र प्रविधिसम्बन्धी ज्ञानलाई मुख्य आधार बनाइनेछ ।
छनोट भएका लाभग्राहीहरूको सूची सार्वजनिक गरिने र त्यसपछि मात्र सम्झौता प्रक्रिया अघि बढाइने कार्यविधिमा उल्लेख छ ।
सरकारको यो कदमले सदियौँदेखि ओझेलमा परेको दलित समुदायको सीपलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य धारमा ल्याउने र आयातित सामानको विकल्पमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । यो कार्यक्रमले दलित समुदायका युवाहरूलाई खाडी मुलुक जानबाट रोकी आफ्नै पुर्ख्यौली पेसामा भविष्य देख्न मद्दत पुग्ने बताइएको छ ।