Connect with us
Kapilvast Forest

नेविसंघ हाँकेको २५ वर्षपछि पार्टीको ‘स्टेयरिङ’मा ‘चार भाइ’

२०८२, ३ माघ शुक्रबारमा प्रकाशित

कांग्रेस विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय गुरुराज घिमिरे तथा प्रदीप पौडेलको राजनीतिक यात्रा बडो रोचक छ । विद्यार्थीकालदेखि पार्टी राजनीतिमा आइपुग्दा चारजना सँगसँगै छन् । नेविसंघको एउटै कमिटीका उनीहरूले कांग्रेस कमिटीमा पद अदली–बदली गरेका छन् । अर्थात् पद साटेजस्तै देखिएको छ ।

कांग्रेस सभापति बनेका गगन नेवसंघको अध्यक्ष बन्न पाएनन् । तर, नेविसंघको पालैपालो अध्यक्ष बनेका शर्मा, घिमिरे र पौडेल भने अहिले गगनको कमिटीमा छन् । विश्वप्रकाश नेविसंघ सभापति हुँदा गगन उपसभापति, प्रदीप र गुरुराज सहमहामन्त्री थिए । गुरुराज सभापति हुँदा गगन महामन्त्री र प्रदीप उपसभापति थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अवरोधका कारण गगन नेविसंघको अध्यक्ष बन्नबाट वञ्चित भए ।

कांग्रेसमा हक्की र जोखिम मोल्ने क्षमता बोकेका गगन र वैचारिकतामा अगाडि देखिने विश्वप्रकाशको राजनीतिक सम्बन्ध निकै लामो छ । यी दुईको राजनीतिक सम्बन्धको डोरी कति कसिलो थियो भनेर बुझ्न ०५७ तिर फर्किनुपर्ने हुन्छ । त्यतिवेला शर्मा र थापा नेविसंघको केन्द्रीय समितिमा एकै ठाउँमा थिए । विश्वप्रकाश ०५७ मा नेविसंघको सभापति र गगन उपसभापति बने । अहिले ठ्याक्कै २५ वर्षपछि गगन पार्टी सभापति र विश्वप्रकाश उपसभापति बनेका छन् ।

आफूहरूको नेविसंघमा बस्दाको इतिहास सम्झँदा एक हिसाबमा पद साटेजस्तै भएको बताउँछन् महामन्त्री घिमिरे । ‘२३ वर्षअघि नेविसंघमा म सभापति हुँदा गगनजी महामन्त्री हुनुहुन्थ्यो, अहिले उहाँ पार्टीकै सभापति हुँदा म महामन्त्री बनेको छु,’ उनले भने, ‘पद साटेजस्तो भइरहेको छ ।’ घिमिरेका अनुसार ०६० पुसमा तत्कालीन सरकारले उनी र गगनलाई राजद्रोहको मुद्दा लगाएको थियो । १० दिनसम्म हत्कडी लगाएर हनुमानढोकामा राखिएको थियो । मुद्दा फिर्ता भएपछि थुनामुक्त गरियो । त्यसको केही महिनापछि गगनलाई फेरि पक्राउ गरियो । गुरुराज, विश्वप्रकाश, गगनलगायतलाई नेविसंघको कार्यसमितिबाटै हटाइयो । त्यसपछि ०६२ मा पोखरामा नेविसंघको महाधिवेशन आह्वान भयो । गगन अध्यक्षमा उम्मेदवारी दिने पोखरा पुगे । तर, कांग्रेस नेतृत्वकै कारण भाँडियो । त्यसपछि अर्को महाधिवेशन चितवनमा डाकियो । महाधिवेशनमा प्रदीप सभापति बने ।

‘गगन नेविसंघको सभापति हुन्छ भनेर पोखरामा महाधिवेशन हुन दिइएन, त्यसपछि चितवनमा महाधिवेशन भयो, त्यहाँ गगनजी अध्यक्ष हुन सक्नुभएन, त्यतिवेला गगनजी सभापति भए एक लाख विद्यार्थी थपिन्छन् भन्ने आकलन थियो, तर उम्मेदवार बन्नुभएन,’ गुरुराजले भने, ‘किनभने उहाँ उम्मेदवार बन्दा महाधिवेशन नहुने अवस्था थियो, त्यहाँ प्रदीपजी अध्यक्ष बन्नुभयो । ०६४ जेठदेखि ०६८ को अन्तिमसम्म काम गर्नुभयो, मेरो कार्यकाल १८ महिनाको भयो, त्यस समयमा मलाई विघटनमा पारियो, गगनजीलाई सभापति हुन दिइएन ।’

नेविसंघमा एउटै कमिटीमा रहेर काम गरेका गगन र विश्वप्रकाश अहिले कांग्रेसको कमान्ड हाँक्ने ठाउँमा आइपुगेका छन् । बिचको केही समय यी दुई अलि फरक कित्तामा उभिए पनि अहिले एकै ठाउँमा आइपुगेका छन् । राजनीतिक यात्रामा एकअर्कालाई सम्मान गर्दै हिँड्ने यी दुई नेता सधैँ एकै ठाउँमा हुँदा पार्टीलाई हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । यी दुईकै सक्रियताका कारण अहिले कांग्रेस विशेष महाधिवेशन सम्पन्न भएको छ । नेतृत्व पुस्तान्तरण हुन नसकेको कांग्रेसमा नेतृत्व हस्तक्षेपमा सधैँ सक्रिय देखिएका गगन र विश्वप्रकाशले विशेष महाधिवेशनबाट शक्ति देखाए पनि त्यसले वैधानिकता पाउन भने बाँकी छ ।

महामन्त्रीमा विजयी भएदेखि नै कांग्रेसभित्र गुटबन्दीको राजनीति तोड्न गगन र विश्वले गरेको निरन्तर प्रयासलाई विशेष महाधिवेशनले साकार रूप दिएको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिनुपर्छ भन्दै नीति र नेतृत्व दुवैमा परिवर्तन माग गर्दै उनीहरूले छेडेको विद्रोहलाई विशेष महाधिवेशनले अनुमोदन गर्‍यो ।

दोस्रो विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज र प्रदीपको इतिहास गगन र विश्वप्रकाशको जस्तै छ । समान उमेरका दुवैको राजनीतिक यात्रा पनि उस्तै देखिन्छ । ०५८ र ०६२/६३ को जनआन्दोलनमा यी दुई राजतन्त्रविरुद्ध उत्रिने विद्यार्थी नेता थिए । २३ वर्षपछि अहिले प्रदीप र गुरुराज पार्टीकै पदाधिकारीमा पुगेका छन् । गुरुराज ०५९ माघमा नेविसंघको सभापति हुँदा प्रदीप उपसभापति थिए । प्रदीप ०६३ को अन्तिमतिर भएको नेविसंघको महाधिवेशनमा अध्यक्ष बने । त्यसयता प्रदीप पार्टीको केन्द्रीय समितिमा सक्रिय रहँदै आए पनि गुरुराज भने हराए ।

‘वैचारिकता, राजनीतिक क्षमता र भरोसाको हिसाबले नै संगठनले हामीलाई रोजेको हो, विश्वदाइ वैचारिकतामा परिपक्व हुनुहुन्थ्यो, गगनमा जोखिम मोल्ने क्षमता पहिलेदेखिकै हो । गुरुजी सधैँ सक्रिय हुनुहुन्छ । विश्वदाइबाट हामीले वैचारिक कुरा अझ बढी सिक्यौँ, एक–अर्कालाई सहयोग गर्ने र राम्रो कमिटी बनाएर अघि बढ्नुपर्छ भन्ने चारैजनाको समान विचार हो,’ प्रदीपले भने ।

गुरुराज ०७८ मा भएको १४औँ महाधिवेशनमा कोशी प्रदेश कार्यसमिति सभापतिको उम्मेदवार बनेका थिए । उनी संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग पराजित भएका थिए । ०७९ को आमनिर्वाचनमा प्रदेश सदस्यमा पराजित घिमिरे अध्ययनशील र विचारशील युवा नेतामा पर्छन् । शेखर कोइरालानिकट भए पनि उनी अहिले गगन थापासँग निकट हुन पुगेका छन् । विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियानको नेतृत्व उनले नै गरेका हुन् । उनैलाई महाधिवेशन हलले महामन्त्री चुन्यो ।

‘हामीहरू अलिकति भिन्न देखिनुपर्छ र क्षमता देखाउनुपर्छ भनेर काम गर्दै आइरहेका थियौँ, ०६२/६३ को आन्दोलन, ०५८ देखि नै संगठनमा माथिल्लो पदमा थियौँ, त्यतिवेला सशक्त हुने मौका पायौँ, अहिले पनि हामीले आफ्नो तरिकाले एक–अर्कालाई अघि बढाएको हो, उहिलेदेखि नै हामीलाई संगठनमा भरोसाको हिसाबले पनि हेरिन्थ्यो,’ पौडेलले भने ।

कांग्रेसको १४औँ महाधिवेशनमा गगन, विश्वप्रकाश र प्रदीप महामन्त्रीका उम्मेदवार थिए । गगन शेखर कोइराला, शर्मा प्रकाशमान सिंह र पौडेल कृष्णप्रसाद सिटौला (संस्थापन पक्ष) बाट महामन्त्रीको उम्मेदवार थिए । थापा र शर्मा विजयी भए । प्रदीप पराजित भए । हिजो जितहार जे–जे भए पनि अहिले एक–अर्कालाई सम्मान गरी उनीहरू कांग्रेसको संगठन अघि बढाउन लागिपरेका छन् ।

साभार : नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu