Connect with us
Kapilvast Forest

कांग्रेस आधिकारिकता विवाद अब निर्वाचन आयोगको ‘इजलास’मा

२०८२, ३ माघ शुक्रबारमा प्रकाशित

आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको मुखमा दुई टुक्रा भएको कांग्रेसमा आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । आगामी ६ माघमा उम्मेदवार मनोनयनको कार्यतालिका रहेकाले आयोग यथाशक्य चाँडो निर्णय दिनुपर्ने दबाबमा छ । आयोगको निर्णयलाई अर्को पक्षले अदालबाट चुनौती दिन पाउँछ ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन भएपछि पार्टीको आधिकारिकता विवाद औपचारिक रूपमा आयोगमा प्रवेश गरेको हो । बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनपछिका दस्ताबेज अद्यावधिक गर्ने निर्णय गरेसँगै सभापति थापासहितका नेता निर्वाचन आयोग पुगेका छन् ।

यसअघि, बुधबार शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरिएको पत्र आयोगमा बुझाएको थियो । विशेष महाधिवेशन पक्षधरले यसअघि नै १६ पुस र २८ पुसमा आयोगलाई विशेष महाधिवेशनसम्बन्धी जानकारी गराइसकेका छन् ।

थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगमा आवश्यक सबै कागजात बुझाइसकेको बताए । ‘विशेष महाधिवेशनको वैधानिकता पुष्टि हुने सम्पूर्ण प्रमाणसहित दस्ताबेज बुझाएका छौँ । पार्टीका पछिल्ला निर्णय अद्यावधिक गरिदिन आग्रह गरेका छौँ,’ उनले बिहीबार नयाँ पत्रिकासँग भने, ‘एक–दुई दिनभित्रै हाम्रो विषय टुंगिन्छ भन्ने आश्वासन आयोगबाट पाएका छौँ ।’

वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा रहेका कानुनविद् टोलीको उपस्थितिमा सभापति थापाले पार्टीका पछिल्ला दस्ताबेज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका थिए । कांग्रेस विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भई त्यसैको अधिकार प्रयोग गरेर नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको उल्लेख गर्दै दस्ताबेज तत्काल अद्यावधिक गर्न आग्रह गरिएको छ ।

तर, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिन अस्वीकार गरे । ‘आधिकारिकताको निरूपण नहुन्जेल म केही बोल्दिनँ । निर्णय भएपछि मात्र बोलिन्छ,’ नयाँ पत्रिकाको प्रश्नमा उनले भने ।

थापा समूहका केन्द्रीय सदस्य उज्ज्वल बरालका अनुसार आयोगमा विशेष महाधिवेशनको वैधानिकता, हस्ताक्षरसहितका प्रमाण र कानुनी आधार पेस गरिएको छ । ‘हामी आधिकारिक कांग्रेसको नेतृत्व हौँ भन्ने आधार र प्रमाणसहितको विवरण, विशेष महाविधेशनको वैधानिकता र हस्ताक्षरसहित कानुनी वैधताका आधारहरू आयोगमा पेस गरेका हौँ,’ केन्द्रीय सदस्य बरालले भने ।

शेखर कोइरालाको अपिल: ‘घर फर्कौँ’
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संस्थापन पक्षलाई साथ दिँदै विशेष महाधिवेशन पक्षधरलाई पार्टी एकतामा फर्किन आह्वान गरेका छन् । बिहीबार जारी अपिलमा उनले पार्टी एकताका प्रयास असफल भएको स्वीकार गर्दै सबै पक्ष जिम्मेवार रहेको उल्लेख गरेका छन् ।

‘यसबिच घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिका मूल्यांकन गर्ने जिम्मेवारी इतिहासमा सुम्पन्छु । पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया रोकिने छैनन् । हामी सबै घर फर्कौँ, कांग्रेसमा फर्कौँ । यहाँ जित–हार कसैको छैन, विन–विन स्थितिमा अगाडि बढ्न सकिन्छ,’ डा. शेखरले विज्ञप्तिमार्फत भनेका छन् ।

दृश्यमा देखिएका र नदेखिएका अनेकौँ अन्तरविरोधबाट पार्टी यसबिचमा गुज्रेको उल्लेख गर्दै भनेका छन्, ‘राजधानीमा षड्यन्त्रको अनेकन राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’ तर, यसबारे उनले विस्तृतमा भनेका छैनन् ।

उनले बिपी कोइरालालाई सम्झेर सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको बुझ्न सबैलाई आग्रह गरेका छन् । उनी चाँडै नै कांग्रेसको चुनावी अभियानमा सहभागी हुनेसमेत बताएका छन् ।

गगनको नेतृत्वमा घोषणापत्र निर्माण र विश्वप्रकाशको नेतृत्वमा चुनाव परिचालन समिति
विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले निर्वाचन प्रयोजनका लागि सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । संस्थापनले सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षरमा टिकट वितरण गर्दै आएको छ । राष्ट्रिय सभाको टिकटमा पनि देउवाकै हस्ताक्षर छ ।

त्यसैगरी, निर्वाचन घोषणापत्र निर्माण समिति सभापति थापाको नेतृत्वमा र निर्वाचन परिचालन समिति उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको छ । सानो आकारको संसदीय बोर्ड गठनबारे पनि छलफल भएको र शुक्रबार बस्ने बैठकले त्यसबारे निर्णय गर्ने केन्द्रीय सदस्य उज्ज्वल बरालले बताए । बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ता पनि नियुक्त गरेको छ ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय नेतृत्वले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश गर्ने जनाएको छ । ‘आधिकारिकता निरूपण भएपछि हामी पार्टी कार्यालय जान्छौँ । अहिले कार्यालय नजानु विशुद्ध प्राविधिक विषय हो, राजनीतिक होइन,’ प्रवक्ता चालिसेले भने ।

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएसँगै दुई फ्याक भएको कांग्रेसका नेता/कार्यकर्ता पनि विभाजित भएका छन् । जिल्लादेखि केन्द्रसम्मका धेरै नेता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमै छन् भने महाधिवेशन प्रतिनिधि धेरै गगन थापाको नेतृत्वमा बनेको कांग्रेसतिर देखिएका छन् ।

कांग्रेसका कुल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४% ले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनमा ५६.१२% प्रतिनिधि सहभागी भएको दाबी यो समूहले गरेको छ । २७ पुसमा दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट जारी विज्ञप्तिमा २६ सय ६२ प्रतिनिधि सहभागी भएको उल्लेख थियो । कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि सहभागी भएको जनाइएको थियो । त्यसपछि पनि प्रतिनिधि आउने क्रम जारी रहेकाले उपस्थित संख्या अझ धेरै रहेको यो समूहको दाबी छ ।

यता, केन्द्रदेखि जिल्लासम्मका नेता भने धेरैजसो देउवा नेतृत्वको कांग्रेसमै देखिन्छन् । १४औँ महाधिवेशनपछि बनेको १६५ सदस्यीय कार्यसमितिमध्ये तीन पदाधिकारीसहित ३४ जना मात्र विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा लागेका छन् । त्यस्तै, सात प्रदेश सभापतिमध्ये पाँच र ७७ जिल्ला कार्यसमितिमध्ये ५१ जिल्लाका सभापति देउवा नेतृत्वकै कांग्रेसमा छन् ।

१४औँ महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहित ३४ केन्द्रीय सदस्य विशेष महाधिवेशन पक्षधर कांग्रेसमा खुलेका छन् । थापा नेतृत्वको १३४ सदस्यीय केन्द्रीय समिति बुधबार घोषणा भएको थियो । पुरानो कार्यसमितिका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रमश: सभापति र उपसभापतिका रूपमा नयाँ केन्द्रीय समितिमा आए । पुरानो कार्यसमितिमा सहमहामन्त्री रहेका मन्सुर नयाँमा पनि सहमहामन्त्रीमै दोहोरिए ।

सातमध्ये पाँच प्रदेश सभापति देउवातिर, गण्डकी र लुम्बिनी सभापति गगनतिर
कांग्रेस विभाजन हुँदा सातमध्ये पाँच प्रदेशका सभापति शेरबहादुर देउवातिर लागेका छन् । गण्डकी सभापति शुक्रराज शर्मा र लुम्बिनी सभापति अमरसिंह पुन भने गगन थापातिर खुलेका छन् । सभापतिहरू कोशीका उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने देउवा पक्षमा छन् । यीमध्ये यादव मधेश र बानियाँ बागमती प्रदेश सरकारका मुख्यमन्त्री छन् ।

लुम्बिनी सभापति पुनले पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र पार्टी विभाजन नभएको तर्क गरे । ‘प्रक्रिया र कानुनअनुसार अधिवेशन भएको हो । हामी सबै ठाउँमा बलियो छौँ,’ उनले भने, ‘ पुरानो नेतृत्व, विचारलाई जनभावनाअनुसार अगाडि बढाएका छौँ । निवर्तमान सभापति (शेरबहादुर देउवा) र नेताहरू पनि फेरि एकै ठाउँमा आउनुहुन्छ ।’

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापातिर २३ जिल्ला सभापति देखिन्छन् । तनहुँ, कपिलवस्तु र दाङका जिल्ला सभापतिहरूले भने आफूहरू कुनै पक्षमा नरहेको र चारतारे कांग्रेसमा रहेको प्रक्रिया नयाँ पत्रिकालाई दिएका छन् ।

देउवातिर खुल्नेमा कोशीका १०, मधेशका आठै, बागमतीका आठ, गण्डकीका ६, लुम्बिनीका दुई,कर्णालीका नौ र सुदूरपश्चिमका आठ जिल्ला सभापति छन् । गगनतिर कोशीका चार, बागमतीका पाँच, गण्डकीका चार, लुम्बिनीका आठ तथा कर्णाली र सुदूरपश्चिमका एक–एक जिल्ला सभापति छन् ।

१४ जिल्ला रहेको कोशीमा चार जिल्ला सभापति गगन पक्षतिर खुलेका छन् । बाँकी १० जिल्ला सभापति भने देउवातिर छन् । सभापतिहरू तेह्रथुमका अर्जुन तुम्बाहाम्फे, धनकुटाका दिनेश राई, भोजपुरका विनोद वान्तबा र (गगन) उदयपुरका हिमाल कार्की गगनतिर लागेका हुन् ।

मधेश प्रदेशका सभापति र आठै जिल्ला सभापति देउवातिर लागेका छन् । महोत्तरीका सभापति नागेश्वर यादवले आफूहरू व्यक्तिभन्दा पार्टीको पक्षमा रहेकाले विशेष महाधिवेशनको पक्षमा नलागेको बताए । ‘चुनावको मुखमा पार्टीको महाधिवेशन गर्नु प्राविधिक रूपमा उचित थिएन, त्यसकारण चुनावपछि वैशाखमा गर्ने तय भयो । तर, त्यो कुरालाई नमानेर एक पक्षले पार्टी नै फुटाउनेसम्मको हर्कत गरे,’ उनले भने ।

१३ जिल्ला रहेको बागमतीमा आठ जिल्ला सभापति देउवातिर लागेका छन् । बाँकी पाँच जिल्ला सभापति भने गगनतिर लागेका छन् । सभापतिहरू काठमाडौंका कृष्ण बानियाँ सबुज, ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकका तीर्थ लामा, सिन्धुपाल्चोकका जंगबहादुर लामा र रसुवाका पेम्बाछिरिङ तामाङ गगनतिर छन् ।

काभ्रेपलाञ्चोक सभापति तीर्थ लामाले कांग्रेस विधानसम्मत चल्नुपर्ने भनेर आफूहरू गगनको पक्षमा लागेको बताए । ‘जेन–जी आन्दोलनपछि बदलिएको परिस्थितिमा कांग्रेस पनि बदलिनुपर्छ भन्ने हाम्रो माग हो । विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरे पनि त्यो अनिवार्य बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था हो । यसरी यो कुरालाई संस्थापन पक्षले नमानेको कारणले हामी विशेष महाधिवेशनको पक्षमा लाग्यौँ,’ उनले भने ।

तर, देउवा पक्षमा लागेका चितवन सभापति राजेश्वर खनालले निर्वाचन आइसकेकाले वैशाखमा नियमित महाधिवेशन निर्धारण भइसकेकाले त्यहीअनुसार जानुपर्ने आफूहरूको भनाइ रहेको बताए । ‘महाधिवेशनले तत्काल पार्टीमा विचलनको अवस्था निर्माण गर्छ भन्ने डर थियो, त्यसैले हामीले पहिला आमनिर्वाचन, त्यसपछि वैशाख २८ को नियमित महाधिवेशनलाई सम्पन्न गरौँ भनेका थियौँ,’ उनले भने ।

गण्डकीका ११ मध्ये ६ जिल्ला सभापति देउवातिर लागेका छन् भने चार सभापति गगन पक्षमा खुलेका छन् । तनहुँ सभापति जितप्रकाश आलेले आफू कुनै पक्षमा नखुलेको बताए ।

गगनतिर लागेका गोरखा सभापति नन्दप्रसाद न्यौपानेले नेतृत्व र नीति आमनागरिकको अपेक्षाअनुसार चल्न नसकेपछि विशेष महाधिवेशनमार्फत नीतिसँगै नेतृत्व परिवर्तन गर्नुपरेको बताए । ‘नियमित महाधिवेशन हुन नसकेपछि पार्टीको विधानअनुसार प्रक्रिया पुर्‍याएर विशेष महाधिवेशन सम्पन्न भएको हो । विशेष महाधिवेशनले पार्टीको नीतिसँगै नेतृत्वसमेत परिवर्तन गरेको छ,’ उनले भने, ‘पार्टी कसैको कम्पनी होइन र यसलाई परिवार जसरी चलाउन पाइँदैन, पार्टी भनेको नीति र नेतृत्वले चल्नुपर्छ ।’

गगन पक्षमा लाग्नेमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशका जिल्ला सभापति छन् । यहाँ आठ जिल्ला सभापति गगनतिर लागेका छन् । १२ जिल्ला रहेको लुम्बिनीमा बर्दियाका अरुणप्रकाशसिंह राठोर र रुपन्देहीका रामकृष्ण खाँण मात्र देउवातिर खुलेका छन् ।

दाङका शंकर डाँगी र कपिलवस्तुका अब्दुल कलामले भने आफूहरू कुनै पक्षमा नलागेको र चारतारे कांग्रेसमा रहेको प्रतिक्रिया दिए । दाङ सभापति डाँगीले अहिले आफू कुनै पनि पक्षमा नरहेको बताए । ‘कांग्रेसको आधिकारिकता कता हुन्छ, हामी त्यतै हो, जता चारतारे झन्डा र रुख हुन्छ, हामी त्यहीँ हुन्छौँ,’ उनले भने । उनी यसअघि शेखर कोइराला समूहमा थिए । कपिलवस्तु सभापति कलामले आफू उपचार गराएर भर्खरै अस्पतालबाट फर्किएकाले निर्णय गरिनसकेको बताए । ‘म कतै छैन, कांग्रेसमै छु,’ उनले भने ।

कर्णालीमा सल्यान सभापति केशवबहादुर विष्टबाहेक नौ जिल्ला सभापति देउवातिर लागेका छन् । विष्ट भने गगनतिर छन् ।

देउवाको गृहप्रदेश रहेको सुदूरपश्चिममा बैतडीबाहेक आठ जिल्ला सभापति गगनतिर लागेका छन् । बैतडी सभापति चतुरबहादुर चन्दले आफू युवाको मागअनुसार परिवर्तनकारी पक्षमा रहेको प्रतिक्रिया दिए । ‘पार्टी फुट्न हुँदैनथ्यो । तर, संस्थापन पक्षले कारबाहीको डन्डा चलाएपछि पार्टी फुट्यो,’ उनले भने ।

देउवातिर लागेका कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थका कारण लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी विभाजनको अवस्थामा पुगेको प्रतिक्रिया दिए । ‘सभापतिले आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भनिसक्नुभएको थियो । विधानले पनि नेतृत्व हस्तान्तरण सुनिश्चित नै थियो । तर, व्यक्तिगत महत्वाकांक्षाले केही साथीहरू हतारिनुभयो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’ उनले भने ।

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu