पहाडी र हिमाली जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुने युवा भेटिएनन्, मागभन्दा न्यून उत्तीर्ण
पहाडी तथा हिमाली जिल्लामा निर्वाचन प्रहरीमा मागभन्दा कम उत्तीर्ण भएका छन् । बिहीबार र शुक्रबार लिइएको परीक्षामा मागसंख्याबराबर पनि उत्तीर्ण नभएपछि फेरि दरखास्तका लागि समय थप गरिएको छ । शनिबार र आइतबार (१० र ११ माघ) दरखास्त दिन सक्ने गरी २० भन्दा धेरै जिल्लामा फेरि म्याद थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न पहाडी जिल्लामा मागभन्दा कम उत्तीर्ण भएका छन् । परीक्षा सकिएपछि ती जिल्लामा निर्वाचन प्रहरीका लागि फेरि दुई दिनको समय दिएर दरखास्त आह्वान गरिएको छ ।
युवाहरू पहाडी भेगमा न्यून भएकाले पनि निर्वाचन प्रहरीमा कम दरखास्त परेको छ । दरखास्त दिनेमा महिलाको संख्या तुलनात्मक रूपमा धेरै देखिन्छ । १८ देखि ५४ वर्ष उमेरसम्मको उमेरहद राख्दा पनि दरखास्त न्यून परेपछि प्रहरी समस्यामा परेको छ ।
धेरै जिल्लामा मागअनुसार आवेदन नै नपरेपछि सुरुमा दिइएको एक हप्ताको म्यादमा दुई दिन थप गरिएको थियो । त्यति गर्दा पनि मागअनुसार दरखास्त परेन । निर्वाचन प्रहरीमा मागभन्दा न्यून आवेदन परेको यो पहिलोपटक भएको प्रहरी अधिकारी बताउँछन् । न्यून सेवा–सुविधाका कारण निर्वाचन प्रहरीमा आकर्षण नभएको हो । ४० दिनका लागि भर्ना हुन लागेका उनीहरूले प्रहरी जवानको बराबर तलब र रासन सुविधा पाउनेछन् । तराई र काठमाडौं उपत्यकालगायत जिल्लामा भने पर्याप्त दरखास्त परेको प्रहरीले जनाएको छ ।
२१ फागुनको निर्वाचनका लागि नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९८० तथा सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । १५ माघदेखि उनीहरूलाई तालिम दिने तयारी छ ।
साभार : नयाँपत्रिका