Connect with us
Kapilvast Forest

निर्वाचन खर्चका लागि उम्मेदवार र दलले अलग्गै खाता खोल्नुपर्ने, राष्ट्र बैंकले निगरानी गर्ने

२०८२, ११ माघ शनिबारमा प्रकाशित

उम्मेदवार र दलहरूलाई तोकिएको खर्चको दायरामा बाँध्न निर्वाचन आयोगले बैंकमा बेग्लै खाता खोलेर त्यसमार्फत मात्र कारोबार गर्नुपर्ने नियम बनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावलक्षित खर्चका लागि दल र उम्मेदवारले अलग्गै बैंक खाता खोल्नुपर्ने र त्यसमार्फत कारोबार गर्नुपर्ने निर्णय गरेको हो ।शुक्रबार यस्तो निर्णय गरेको आयोगले यसको नियमन गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचारसमेत गरेको छ । मतदाता प्रभावित पार्न दल र उम्मेदवारले मनलाग्दी खर्च गर्ने परिपाटी रोक्न निर्वाचन खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गरिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवार र दलले निर्वाचन प्रयोजनका लागि अलग्गै खाता खोल्नुपर्ने बताए । ‘आम्दानी र खर्च त्यसै खाताबाट गर्नुपर्छ,’ उनले भने, ‘यसैका लागि खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकलाई पत्राचार गरेको हो । खर्चसम्बन्धीका अन्य विषय कानुनअनुसार हुन्छ ।’उम्मेदवार र दलले गर्ने निर्वाचनलक्षित खर्चसम्बन्धी आचारसंहिताका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन आयोगले भनेको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फका दलीय र स्वतन्त्र उम्मेदवारलाई अलग्गै खातामार्फत बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त गर्न आयोगले भनेको छ । आमनिर्वाचन सम्पन्न भएर आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी यस्तो इजाजत लिनुपर्ने आयोगले जनाएको छ ।

इजाजत राष्ट्र बैंककै वित्तीय जानकारी इकाइ (एफआइयू)मा आबद्ध रहेका बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने आयोगको पत्राचारमा उल्लेख छ । आयोगमातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा यस्तो खाता खोल्न सकिनेछ ।‘यस आयोगमातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा छुट्टै आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै)का नेपाली मुद्रा (रुपैयाँ/पैसा)को आम्दानी–खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुहुन निर्णयानुसार अनुरोध छ,’ आयोगले राष्ट्र बैंकलाई गरेको पत्राचारमा उल्लेख छ ।

आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन यस्तो आवश्यक भएको आयोगको भनाइ छ । आयोगले प्रत्यक्षतर्फका उम्मेदवारलाई २५ लाखदेखि ३३ लाखसम्म र समानुपातिकतर्फका उम्मेदवारलाई दुई लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने, त्यस्तो खर्च गर्न उम्मेदवारका तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र यसरी तोकिएका पदाधिकारीको नाम–नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेलगायतका व्यवस्था छन् । त्यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने आचारसंहितामा छ । २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने एवं व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई राजनीतिक दलका नाममा प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको उपरोक्तानुसारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान आचारसंहितामा छन् ।  उम्मेदवार र दलले गर्ने निर्वाचनलक्षित खर्चसम्बन्धी आचारसंहिताका व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराउन आयोगले भनेको छ ।

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu