कपिलवस्तु–१ मा युवामैत्री एजेन्डासहित आशीष शर्माको उम्मेद्बारी
कपिलवस्तु –
कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा चुनावी मैदानमा उत्रिएका छन्। ‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’ भन्ने नारासहित चुनाव चिन्ह जीप लिएर प्रतिस्पर्धामा उत्रिएका शर्माले शनिबार बाणगंगाको बैरिया स्थित मायादेवी रिसोर्टमा युवाहरुसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरे।
कार्यक्रममा बोल्दै शर्माले भने, “अबको समय युवाको हो। पटक–पटक चुनाव जितेर मन्त्री बनेका नेताहरुले कपिलवस्तुको मुहार फेर्न सकेनन्। यसपटक मलाई साथ दिनुहोस्, कपिलवस्तुको काचुली फेरने काम म गर्छु।”
शर्माले कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने घोषणा गरे। उनले स्पष्ट रूपमा भने, “यी क्षेत्रमा सुधार ल्याउन अरुबाट सम्भव नभएको काम म गर्छु।”
युवाहरुलाई संगठित गर्न बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाणको संयोजकतामा ११ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ। समितिले बाणगंगाका युवाहरुलाई सक्रिय बनाउँदै चुनावी अभियानलाई सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी युवाहरुले पुराना नेताहरुले विकासमा देखाएको असफलतापछि अब नयाँ सोचसहितको नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे। उनीहरुले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनलाई कपिलवस्तुको भविष्यका लागि अपरिहार्य ठाने।
शर्माले युवाहरुलाई सम्बोधन गर्दै थपे, “हामीले अब अवसर गुमाउनु हुँदैन। कपिलवस्तुमा परिवर्तन ल्याउने जिम्मेवारी हाम्रो पुस्ताको हो।”
कपिलवस्तुमा युवाको उत्साह र स्वतन्त्र उम्मेदवारको प्रतिबद्धताले चुनावी माहोल थप चञ्चल बनेको छ। स्थानीय स्तरमा युवाहरुको सक्रियता बढ्दै जाँदा चुनावी प्रतिस्पर्धा अझ रोचक हुने अनुमान गरिएको छ।