राष्ट्रिय सभाका १७ सिटका लागि आज मतदान, कांग्रेसका सुनील थापा पहिल्यै निर्विरोध
राष्ट्रिय सभाका १७ सिटका लागि आइतबार मतदान हुँदै छ । २० फागुनदेखि कार्यकाल सकिने १९ सिटमध्ये कोशी प्रदेशमा खसआर्यतर्फको एउटा पदमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेका छन् भने एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । बाँकी १७ सिटका लागि मतदान हुन लागेको हो ।
निर्वाचनमा कांग्रेस र एमालेले सात–सात सिट लिने गरी गठबन्धन गरेका छन् । जसपा नेपाललाई मधेश प्रदेशमा तीन सिट दिएको छ भने एक सिट लोकतान्त्रिक समाजवादीबाट उम्मेदवार रहेका महन्थ ठाकुरका लागि छ । ठाकुरले हाल जसपा नेपालसँगै एकता गरिसकेका छन् । नेकपा एक्लै चुनावी मैदानमा छ ।राष्ट्रिय सभाका लागि कांग्रेसको मतभार २१ हजारभन्दा बढी छ । त्यस्तै, एमालेको १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार छ ।
निर्वाचन आयोगका अनुसार महिला सात, दलित दुई, अपांगता भएका दुई र अन्य क्लस्टरबाट सातजना नयाँ सांसद राष्ट्रिय सभामा आउँदै छन् । मधेशबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यबाट एक–एकजना गरी चारजना निर्वाचित हुनेछन् । त्यस्तै, कोशीबाट महिला, दलित र अन्य एक–एक गरी तीनजना, बागमतीमा महिला र अन्य एक–एक गरी दुईजना, गण्डकीमा महिला र अन्य एक–एक गरी दुईजना चयन हुँदै छन् ।
यसबाहेक लुम्बिनीबाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य एक–एक गरी तीनजना, कर्णालीमा महिला र अन्य एक–एक गरी दुईजना तथा सुदूरपश्चिममा महिला र अन्य क्लस्टरमा एक–एक गरी दुईजना निर्वाचित हुनेछन् ।
कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धन, नेकपा एक्लै
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेले सात–सात सिट लिने गरी गठबन्धन गरेका छन् । जसपा नेपाललाई मधेश प्रदेशमा तीन सिट दिइएको छ भने एक सिट लोकतान्त्रिक समाजवादीबाट उम्मेदवार रहेका महन्थ ठाकुरका लागि छ । ठाकुरले हाल जसपा नेपालसँगै एकता गरिसकेका छन् । नेकपा एक्लै चुनावी मैदानमा छ । यो निर्वाचनमा प्रदेश सभा सदस्य, पालिका प्रमुख/उपप्रमुखले मत हाल्छन् ।