Connect with us
Kapilvast Forest

पब्लिक डिबेटको लागि तयार छु : ओली

२०८२, १२ माघ आईतवारमा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पब्लिक डिबेटको लागि आफू तयार भएकाे बताएका छन् । भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नयाँ र पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ।’

उनले अगाडि भने, ‘यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ।’

‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु’, ओलीले भने, ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’

एमालेबाट केपी ओली, नेपाली कांग्रेसबाट पार्टी सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह बालेन भावि प्रधानमन्त्रीको रुपमा चुनावी मैदानमा छन् । पब्लिक डिबेटको लागि ओलीको प्रतिबद्धता आए पनि गगन र बालेन यसबारेमा अहिलेसम्म केही बोलेका छैनन्, माैन छन् ।

साभार:नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu