दल र उम्मेदवारको खर्च कस्दै निर्वाचन आयोग, अब चन्दा पनि बैंक खातामार्फत नै लिनुपर्ने
दल र उम्मेदवारले निर्वाचनमा गर्ने असीमित खर्च कस्न खोजिरहेको निर्वाचन आयोगले चन्दा पनि बैंक खातामार्फत नै दिनु/लिनुपर्ने कानुनी व्यवस्था गरेको छ । दल र उम्मेदवारलाई कसैले चन्दा दिन चाहे बैंक खातामार्फत नै सहयोग गर्नुपर्ने र यसका लागि दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने प्रावधान बनाएको हो ।
आयोगले बुधबार यससम्बन्धी ‘निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, ०८२ स्वीकृत गरी सार्वजनिक गरेको छ । दल र उम्मेदवारलाई प्रचारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम तथा उनीहरूले गर्ने खर्चलाई मितव्ययी र पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न यस्तो कार्यविधि बनाइएको आयोग प्रवक्ता नारायण भट्टराईले बताए ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएर उम्मेदवारी दिएका सबै दल, उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारका निमित्त आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार यसै खातामार्फत गर्नुपर्ने भट्टराईले बताए । खाता खोल्नका लागि दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुने गरी तोकिएको छ ।
छुट्टै खाता कसरी खोल्ने ?
चुनावका लागि छुट्टै खाता खोल्न दलले आयोगको सचिवालय र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । निवेदन दिँदा दलको पत्र, उम्मेदवारी दिएको निस्सा, सम्बन्धित बैंकको दस्तखत नमुना कार्ड र खाता सञ्चालकको नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ । निवेदन प्राप्त भएपछि कागजात जाँच तथा प्रमाणित गरी आयोगको सचिवालय वा निर्वाचन कार्यालयले बैंकमा सिफारिस गर्नेछ भने त्यसको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा दिनुपर्नेछ ।
सिफारिसपछि बैंकले खाता खोलेर दलको खाता भए आयोगको सचिवालय र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी पठाउनुपर्नेछ ।
बैंक खाता सञ्चालन गर्न दलको हकमा बढीमा दुईजना पदाधिकारी र उम्मेदवारको हकमा सम्बन्धित उम्मेदवार वा निजले अख्तियारी दिएको व्यक्ति रहने भनिएको छ ।
बैंक खातामा चन्दादाताले दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारका लागि दिने स्वैच्छिक आर्थिक सहयोग नेपाली मुद्रामा हुनुपर्नेछ । खर्च पनि नेपाली रुपैयाँमै हुनुपर्नेछ ।
दल तथा उम्मेदवारले कुनै नेपाली नागरिक वा संगठित संस्थाबाट २५ हजारभन्दा बढी स्वैच्छिक आर्थिक सहयोग रकम प्राप्त गर्दा सोझै बैंक खातामा प्राप्त गर्नुपर्ने र सोभन्दा कम रकमका लागि नगदी रसिद वा भरपाई बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ । सरकारी निकाय, सार्वजनिक निकाय, गैरसरकारी संस्था, विदेशीबाट सहयोग लिन नपाउने भनिएको छ ।
नेपाली नागरिक वा संगठित संस्थाबाट एक लाखभन्दा बढी आर्थिक सहयोग लिँदा त्यस्तो सहयोग दने व्यक्ति तथा संस्थाको नाम, थर, ठेगाना, पेसा, स्थायी लेखा नम्बर तथा त्यस्तो आर्थिक सहयोग दिइएको रकमको स्रोत र त्यस्तो रकममा कर लाग्ने, नलाग्ने कुराहरू खुलाउन लगाएर मात्र लिनुपर्ने र त्यस्तो विवरणको अभिलेखसमेत राख्नुपर्ने भनिएको छ । दल तथा उम्मेदवारले यसअघि निर्वाचन प्रचार खर्च गर्न बैंक खाता खोली प्राप्त गरेको रकम यस कार्यविधिबमोजिम खोलिएको बैंक खातामा सार्नुपर्नेछ ।
कानुनबमोजिम निर्वाचन प्रचार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने भनिएको छ । खर्च विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र आयोग र कार्यालयले बैंक खाता बन्द गर्न लगाउने व्यवस्था कार्यविधिमा छ । निर्वाचन प्रचार खर्चको सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुखले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा निरन्तर अनुगमन गर्ने व्यवस्था छ ।
अनुगमनका क्रममा दल तथा उम्मेदवारले सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्ति प्रयोग गरे–नगरेको, कानुनविपरीत सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघसंस्थाबाट आर्थिक सहयोग लिए–नलिएको, आयोगले तोकेको हदभित्र रही खर्च गरे–नगरेको, निर्वाचन प्रचार अभियानमा निषेधित कार्यका लागि आर्थिक सहयोग लिए–नलिएको, प्रचारका लागि कोणसभा, आमसभा गर्दा मञ्चको तयारीका लागि गरेको खर्चको जाँचबुझ गर्ने, दल र उम्मेदवारले खर्च गर्दा बैंकमा छुट्टै खाता खोली खर्च गरे–नगरेको हेर्नुपर्ने र कानुनबमोजिम आवश्यक कारबाही गर्नुपर्ने भनिएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले पारदर्शी निर्वाचनका लागि कार्यविधि बनाइएको बताए ।
‘आचारसंहिताले पनि दलहरूले निर्वाचन प्रचार गर्दा छुट्टै खाता खोली गर्नुपर्ने, जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, निर्वाचन प्रचारका लागि आयव्यय पारदर्शी हुनुपर्ने भनेको छ । त्यही उद्देश्यका लागि यो व्यवस्था गरिएको हो,’ उनले भने, ‘दल तथा उम्मेदवारले आयोगले तोकेको खर्चको हदभित्रै रहेर पारदर्शी किसिमले खर्च गर्दा स्वतन्त्र, निष्पक्ष पारदर्शी निर्वाचनलाई सहयोग पुग्छ ।’
दल तथा उम्मेदवारको खर्चको सीमा
निर्वाचन आयोगले दल र उम्मेदवारका लागि खर्च गर्न पाउने सीमा तोकेको छ । दलले बन्दसूचीमा उम्मेदवार पेस गरेको आधारमा प्रत्येक उम्मेदवारको २ लाखको दरले खर्च गर्न पाउँछ । त्यस्तै, उम्मेदवारको हकमा निर्वाचन क्षेत्र हेरी २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंका पाँच निर्वाचन क्षेत्र (१, ३, ६, ७ र ८) का उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने भनिएको छ । १७ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख र २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउने सीमा तोकिएको छ ।