कपिलवस्तुको बुद्धभूमीमा उद्यमशीलता विकास तालिम
न्युज सेन्टर नेपाल –
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूमा उद्यमशील सोच, आत्मविश्वास तथा सीप विकास गरी स्थानीय स्तरमै स्वरोजगार र उद्यम स्थापना गर्न प्रेरित गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा ५ दिने उद्यमशीलता विकास तालिम सुरु गरिएको छ।
बुद्धभूमी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा तथा सामी (सुरक्षित आप्रवासन) कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा वैदेशिक रोजगारबाट फर्किएका ५० जना भन्दा बढी युवाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागीहरूलाई उद्यम सञ्चालनका आधारभूत ज्ञान, व्यवसाय योजना निर्माण, अवसर पहिचान तथा आत्मनिर्भर बन्न आवश्यक सीप प्रदान गरिने जनाइएको छ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले विदेशबाट फर्किएका युवाहरूले आफ्नो सीप, अनुभव र मेहनतलाई स्वदेशमै प्रयोग गर्न सके पर्याप्त सम्भावना रहेको बताउनुभयो। उहाँले मेहनत, लगनशीलता र सकारात्मक सोचका साथ अघि बढेमा आफ्नै ठाउँमा सम्मानजनक आम्दानी र रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
नगर प्रमुख श्रेष्ठले युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्न नगरपालिका निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै यस तालिमबाट सहभागीहरूले उठाएका सामूहिक सुझाव तथा आवश्यकताहरूलाई नगरपालिकाले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।