भेषराजले छोडे विप्लवको साथ, जिम्मेवारीबाट मुक्त भएको घोषणा
न्युजसेन्टर नेपाल, कपिलवस्तु-
विप्लव नेतृत्वको नेकपा (माओवादी) भित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक भएको छ । पार्टीको पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसालले पार्टीबाट अलग भएको घोषणा गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता भेषराज सी (भुसाल) ले महासचिव विप्लव नेतृत्वको पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन् ।
भुसालले सार्वजनिक वक्तव्यमार्फत पार्टीको संगठनात्मक महाधिवेशन आयोजक समिति सदस्य, केन्द्रीय स्कुल विभाग प्रमुखलगायतका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको जानकारी दिएका हुन् ।
सचिवालय सदस्य उमा भुजेल (शिलु),पोलिटब्युरो सदस्य एवं समाजवादी मधेसी मुक्ति मोर्चाका केन्द्रीय संयोजक विनोद उपाध्याय र पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठले समेत सामाजिक सञ्जालमार्फत पार्टी र आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
भुसालले महासचिव विप्लवले हरेक केन्द्रीय समिति बैठकमा “पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशाबाट क्रान्ति सम्भव छैन भन्ने लागेका कमरेडहरूले जिम्मेवारीबाट मुक्त हुनुहोस्” भन्ने धारणा राख्दै आएको उल्लेख गर्दै आफू त्यही निष्कर्षमा पुगेको बताएका छन् ।
“तपाईंको नेतृत्व र लाइनमा क्रान्ति सम्भव छ भन्ने विश्वासले नै १२ वर्षसम्म निशर्त पार्टीमा काम गरियो,” भुसालले भनेका छन्, “पोलिट ब्युरो सदस्यसम्मको जिम्मेवारीमा रही पार्टीले दिएको जिम्मेवारी पूरा गरें । पार्टी र क्रान्तिको हितबाहेक अन्य कुरा सोचिएन ।”
उनले संघर्षका विभिन्न मोर्चामा सहभागी हुँदै त्याग, तपस्या र बलिदान गरेको भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गरेका छन् । पार्टी विस्तार हुनुपर्ने अवस्थामा खुम्चिँदै गएको र जनआधार कमजोर बन्दै गएको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने माग राख्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाए ।
भुसालले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच एकता र देशभक्त शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्ने पार्टीको घोषित नीतिबाट महासचिव पछि हटेको आरोपसमेत लगाएका छन् ।
उनले भनेका छन्, “यस विषयमा बहस गरौं भन्ने साथीहरूलाई पार्टी विधान, नीति र विधि लत्याएर निष्कासन गर्ने काम भयो । सजातीयबीचको बहससमेत निषेध गरियो ।”
विप्लव नेतृत्वमा अब क्रान्ति सम्भव नरहेको निष्कर्षमा पुगेको उल्लेख गर्दै भुसालले संगठनात्मक जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।
यद्यपि राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति आन्दोलनबाट भने अलग नहुने स्पष्ट पार्दै उनले सोही आन्दोलनमा पुनः भेट हुने अपेक्षा व्यक्त गरेका छन् ।
भेषराज भुसाल विप्लव नेतृत्वको नेकपाका पुराना नेता तथा केन्द्रीय तहका जिम्मेवार नेताका रूपमा चिनिँदै आएका थिए ।