फोटाेनले थप्यो पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’
काठमाडौं । नेपालका लागि फोटाेन सवारीसाधनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सले आफ्नो बिक्रीपछिको सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै देशभर पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ विस्तार गरेको छ ।
कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ आधिकारिक सर्भिस पोइन्टहरू सञ्चालनमा ल्याएको हो । यस विस्तारसँगै फोटाेनको देशव्यापी सेवा नेटवर्क अब २१ भन्दा बढी स्थानमा पुगेको छ, जसले गर्दा ग्राहकहरूलाई स्थानीय स्तरमै भरपर्दो प्राविधिक सहयोग प्राप्त गर्न सहज हुनेछ ।
यी नयाँ सर्भिस पोइन्टहरूले विशेष गरी दैनिक सञ्चालनमा निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक व्यवसायी र व्यावसायिक सवारीसाधन सञ्चालकहरूलाई छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य राखेका छन् । ‘फोटाेन टोटल केयर नेटवर्क’ मार्फत ग्राहकले नियमित मर्मत–सम्भार, सवारीको प्राविधिक परीक्षण, र वारेन्टी सहयोग जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
नयाँ केन्द्रहरूमा विद्युतीय सवारीसाधन (इभी) का लागि आवश्यक विशेष डायग्नोस्टिक्स उपकरण, तालिमप्राप्त दक्ष प्राविधिक र फोटाेनका ‘जेन्युइन’ स्पेयर पार्टस् उपलब्ध गराइएको छ । यसले गर्दा सवारीसाधनको मर्मतमा लाग्ने समय र सञ्चालन खर्च घट्नुका साथै सवारीको आयु पनि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
फोटाेनले आफ्ना सेवा केन्द्रहरूलाई दुर्गम, अर्ध-सहरी र क्षेत्रीय बजारहरूमा विस्तार गर्दै एउटै मापदण्डको गुणस्तरीय सेवा सुनिश्चित गरेको छ । सेवा लिनकै लागि ग्राहकले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हटाउनु र सवारीसाधनको सुरक्षा तथा विश्वसनीयता बढाउनु नै यस विस्तारको मुख्य लक्ष्य रहेको स्रोतले जनाएको छ ।
नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा, एमएडब्लु वृद्धिले आफ्नो शोरुम र सेवा केन्द्रहरूको सञ्जालमार्फत ग्राहक केन्द्रित समाधानहरू प्रदान गर्दै आएको छ ।