आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट,, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ।
श्रावण १५ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरबाट आएका ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभिकर्ताहरूको योगदानको सम्मान, उनीहरूलाई थप उत्प्रेरित गर्ने तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आइएमई लाइफले अभिकर्ताको दक्षता विकास, प्रेरणा र व्यवसाय विस्तारका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीको उल्लेखनीय प्रगतिमा अभिकर्ताहरूको मेहनत र प्रविधिको प्रभावकारी प्रयोग मुख्य आधार रहेको बताए। उनले आगामी दिनमा अभिकर्ताको कार्यलाई थप सहज बनाउन अत्याधुनिक प्रविधिमा कम्पनीले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्लो आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै डिजिटल प्रविधिमार्फत बीमा सेवा विस्तारमा आइएमई लाइफले अग्रणी भूमिका खेलिरहेको बताए।
त्यस्तै, सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले बिक्रीकर्ताभन्दा पनि बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि कम्पनीले नियमित तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै जाने बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक सफलतामा अभिकर्ताहरूको भूमिका निर्णायक रहेको उल्लेख गरे। उनले अभिकर्तालाई उच्च प्राथमिकतामा राख्दै नयाँ योजनाहरू कार्यान्वयन गरिएको तथा डिजिटल सेवालाई अझ प्रभावकारी बनाउँदै ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, सबैभन्दा बढी बीमालेख जारी गर्ने तथा उल्लेखनीय प्रदर्शन गर्ने अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
उत्कृष्ट अभिकर्ताहरूलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालकहरू विनोद केसी, उषा ढकाल, सुनील कुमार पोखरेल, सन्दीप अग्रवाललगायतले अवार्ड वितरण गरेका थिए।