Connect with us
Kapilvast Forest

शिवगढीको विकास भाषणमै सिमित 

२०८३, २८ श्रावण बिहीबारमा प्रकाशित

कपिलवस्तु-
 कपिलवस्तु र दाङको सीमाक्षेत्रमा अवस्थित शिवगढी इतिहास, धर्म, प्रकृति र पर्यटनको बहुआयामिक महत्व बोकेको ऐतिहासिक स्थल हो। इतिहासमा अंग्रेजविरुद्धको मोर्चामा स्वाधीनताको रक्षार्थ स्थापित सैन्य किल्लाका रूपमा परिचित शिवगढी अहिले भने राज्यको उपेक्षा र कमजोर विकास योजनाको सिकार बनेको स्थानीयको गुनासो छ ।
जबजब कुनै सत्ता परिवर्तन हुन्छ, चुनाव हुन्छ, आन्दोलन हुन्छ त्यतिबेला मात्रै शिवगढीको नाम चर्चामा आउँछ तर पछि सेलाउँछ । शिवगढीको सर्वाङ्गिण विकास भाषणमा मात्र सीमित रहेको छ ।

 

चुरे पहाडको टुप्पोमा रहेको शिवगढीबाट पूर्वमा अर्घाखाँची, पश्चिममा भारत, उत्तरमा दाङ–प्युठान र दक्षिणमा कपिलवस्तुका फाँटहरू नियाल्न सकिन्छ। ढुंगालाई व्यवस्थित रूपमा काटेर बनाइएका संरचना, भिरालो डाँडामा ठड्याइएका पर्खाल तथा दुश्मनको निगरानी गर्न बनाइएका प्वालहरूले यसको सैन्य इतिहासको झल्को दिन्छन्।

तर इतिहासमा अटल र स्वाधीन देखिएको शिवगढी वर्तमानमा भने झुकेको स्थानीयको अनुभूति छ। प्रधानमन्त्री रोजगार कार्यक्रम तथा वडा र पालिकाको बजेटबाट हात्तीखालसम्म सडकको ट्र्याक पुर्‍याइए पनि अपेक्षित पूर्वाधार निर्माण हुन नसकेको स्थानीयको भनाइ छ।

शिवगढी डाँडामा रहेको बस्तीमा शिक्षा, स्वास्थ्य, सडक, यातायात, विद्युत् र खानेपानीजस्ता आधारभूत सुविधाको पहुँच अझै सहज हुन सकेको छैन। रात परेपछि वरिपरिका बस्ती झिलिमिली देखिए पनि शिवगढी आफैं अन्धकारमा रहने अवस्था रहेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार बस्तीमा खानेपानीको अभाव हुँदाहुँदै स्थानीय सरकारले डाँडामा नेपालको सबैभन्दा ठूलो झण्डा राख्ने योजनालाई प्राथमिकता दिएको थियो। उक्त योजनाका लागि छुट्याइएको करिब पाँच लाख रुपैयाँसमेत पछिल्लो आर्थिक वर्षमा खर्च हुन नसकी फ्रिज भएको बताइएको छ। स्थानीयहरू विकासको प्राथमिकता आधारभूत आवश्यकतामा केन्द्रित हुनुपर्ने धारणा राख्छन्।

शिवगढी क्षेत्रको जग्गा कारोबारप्रति पनि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। एक स्थानीयका अनुसार बाहिरी क्षेत्रका केही जग्गा कारोबारी तथा सिमेन्ट उद्योगसँग जोडिएका व्यक्तिहरूले केवलकार निर्माणको प्रलोभन देखाउँदै स्थानीयको जग्गा सस्तो मूल्यमा खरिद गरेको दाबी छ। यद्यपि यस विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि हुन बाँकी छ।

स्थानीयको अर्को चिन्ता शिवगढीको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणसँग जोडिएको छ। “पालिका सरकार सालिक र मूर्ति बनाउन व्यस्त भइरहँदा जनताको पीडा र सम्पदाको संरक्षण कसले गर्ने?” एक स्थानीयले प्रश्न गरे।

शिवगढीबाट लुम्बिनी प्रदेशको राजधानी क्षेत्र करिब २५ किलोमिटरको हवाई दूरीमा रहेको बताइन्छ। प्रदेशको प्रशासनिक राजधानी नजिकै भएर पनि यति महत्वपूर्ण ऐतिहासिक सम्पदा विकासको प्राथमिकतामा नपर्नु विडम्बना भएको स्थानीयको गुनासो छ।

पछिल्ला वर्षमा शिवगढीमा पर्यटक तथा दर्शनार्थीको आकर्षण बढ्दै गएको छ। सामाजिक सञ्जालमा युवाहरू र कन्टेन्ट क्रिएटरहरूले सार्वजनिक गरेका फोटो तथा भिडियोले यसको चर्चा थप बढाएको छ। छिमेकी भारतबाट समेत पर्यटक आउने गरेको स्थानीय बताउँछन्।

स्थानीयको बुझाइमा शिवगढीलाई धर्म, संस्कृति, इतिहास, प्रकृति र पर्यटनसँग जोडेर आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण केन्द्र बनाउन सकिन्छ। केवलकार, बन्जी जम्प, स्काई वाक, होटल, रेस्टुरेन्ट, लज तथा साइक्लिङ र माउन्टेन बाइकिङजस्ता गतिविधि सञ्चालन गर्न सकिने सम्भावना पनि यहाँ देखिन्छ।

तर स्थानीय राजनीतिक स्वार्थ र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूका अनुसार विकासका योजनालाई दलगत प्रभाव र भोट बैंकको राजनीतिभन्दा माथि राख्न आवश्यक छ।

ऐतिहासिक सम्पदाको मौलिकता कायम राख्दै व्यवस्थित संरक्षण, आधारभूत पूर्वाधार निर्माण र वातावरणमैत्री पर्यटन विकास गर्न सके शिवगढी कपिलवस्तु मात्र नभई लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।

इतिहासमा स्वाधीनताको पहरेदार बनेको शिवगढी आज विकास र संरक्षणको प्रतीक्षामा छ। तीनै तहका सरकारले यसको ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा पर्यटकीय महत्व पहिचान गरी दीर्घकालीन योजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu