अक्सिजन सिलिन्डर पड्किँदा एम्बुलेन्स जलेर नष्ट
सल्यान । सल्यानको शारदा नगरपालिकाको एम्बुलेन्स अक्सिजन सिलिन्डर पड्किएर भएको आगलागी भएको छ ।
बिरामीलाई नेपालगन्ज पुर्याएर फर्कने क्रममा बाँकेको जानकी गाउँपालिका–६ स्थित सूर्यशक्ति ग्यास उद्योगमा अक्सिजन सिलिन्डर भर्ने क्रममा विस्फोट भएपछि एम्बुलेन्समा आगलागी भएको हो ।
कर्णाली प्रदेश ०२००१ झ ०२४५ नम्बरको एम्बुलेन्स बिहीबार बिरामीलाई नेपालगन्ज पुर्याएर फर्किएको थियो । अर्को बिरामी ल्याउनुपर्ने भएपछि अक्सिजन सिलिन्डर भर्न ग्यास उद्योगमा लगिएको र सोही क्रममा सिलिन्डर पड्किएर एम्बुलेन्समा आगो लागेको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।
आगलागीबाट एम्बुलेन्स पूर्ण रूपमा जलेर प्रयोगविहीन भएको छ । घटनामा एम्बुलेन्स चालक लोकेन्द्र बस्नेत घाइते भएका थिए । उनको सामान्य उपचारपछि डिस्चार्ज गरिएको नगरप्रमुख भण्डारीले बताए ।
एम्बुलेन्स काठमाडौंको तारकेश्वर नगरपालिकाले २०८० सालमा भगिनी सम्बन्ध स्थापना गरेपछि शारदा नगरपालिकालाई सहयोगस्वरूप उपलब्ध गराएको थियो ।