एभरेष्ट बैंकको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको १५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको ३२ औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने करसहित १० प्रतिशत नगत लाभांश शेयरधनीलाई दिने प्रस्ताव पारित भएको हो ।
सभामा बोल्दै बैंकका अध्यक्ष बालगोपाल वैद्यले बैंकले आगामी दिनमा लगानीकर्तालाई उचित प्रतिफल दिने गरि काम गर्ने बताएका छन् । उनले गत वर्ष बैंक खराब कर्जाको चाँपमा परेको जानकारी दिए ।
गत वर्षको वित्तीय विवरण अनुसार लाभांश दिने क्षमता बढि भए पनि राष्ट्र बैंकको नियमलाई कार्यान्वयन गरेर सन्तुलन गरिएको अध्यक्ष वैद्यको भनाइ छ । बैंकले हाइड्रोपावरमा लगानी बढी गरेको शेयरधनीलाई जानकारी दिए । आम निक्षेपकर्ताको विश्वास जित्न सके मात्र बैंक बलियो बन्ने उनको भनाइ छ ।
बैंकले १३३ शाखा कार्यालय र ३२ वटा सरकारी राजस्व संकलन केन्द्रमार्फत् सेवा दिँदै आएको छ ।