महाराजगन्जको राजनीतिमा लिलावतीको सक्रियता, उपप्रमुखमा दाबी
न्युजसेन्टर नेपाल-
कपिलवस्तु- मधेसी समुदायमा महिलाको राजनीतिक सहभागिता विस्तार हुँदै जाँदा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–११ बडेगाउँकी लिलावती यादव पनि सक्रिय सामाजिक तथा राजनीतिक गतिविधिमा अघि बढ्नुभएको छ ।
घरपरिवार र चुलोचौकाको जिम्मेवारीमा सीमित रहने परम्परागत भूमिकाबाट बाहिर निस्कँदै यादव पछिल्लो समय गाउँका विभिन्न सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुँदै आउनुभएको छ । विशेषगरी महिला हकअधिकार, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य तथा समुदायका सवालमा उहाँले स्थानीय महिलासँग निरन्तर छलफल तथा सहभागिता जनाउँदै आउनुभएको बताउनुभएको छ ।
यादवका अनुसार महिलाको नेतृत्व क्षमता विकास गर्न र उनीहरूलाई सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी गराउन आफूले निरन्तर काम गर्दै आउनुभएको छ ।
महिलाले अवसर पाए नेतृत्व गर्न सक्ने भएकाले स्थानीय तहको निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।
आगामी स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिने मनसाय बनाएर अहिलेबाटै सामाजिक गतिविधिमा सक्रिय भएको यादवले बताउनुभयो ।
उहाँले आफूलाई कुनै पदभन्दा पनि समाजमा काम गर्ने अवसर महत्वपूर्ण रहेको बताउँदै महिलाको आवाजलाई स्थानीय सरकारसम्म प्रभावकारी रूपमा पुर्याउने आफ्नो उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
“महिलालाई घरभित्रको जिम्मेवारीमा मात्र सीमित राखेर समाजको विकास सम्भव हुँदैन । महिलाले पनि नेतृत्व गर्ने अवसर पाउनुपर्छ,” यादवले भन्नुभयो, “महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो चाहना छ ।”
महाराजगन्जमा महिलाको राजनीतिक सहभागिता बढ्दै गएको देखिन्छ । नगरपालिकाको वर्तमान जनप्रतिनिधि संरचनामा पनि विभिन्न वडाबाट महिला तथा दलित महिला सदस्यहरू निर्वाचित भएर स्थानीय शासनमा सहभागी छन् ।
यादवको राजनीतिक सक्रियता भने आगामी निर्वाचनलाई लक्षित गर्दै सामाजिक गतिविधिमार्फत आफ्नो उपस्थिति विस्तार गर्ने प्रयासका रूपमा देखिएको छ ।
उहाँले समुदायका समस्या नजिकबाट बुझ्ने, महिलासँग संवाद गर्ने र स्थानीय आवश्यकताका विषयमा आवाज उठाउने कामलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
“समाजवाद, सेवा र समृद्धिका लागि आफूलाई सक्रिय बनाउँदै लैजानेछु,” यादवले भन्नुभयो ।