Connect with us

किन लाग्यो पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाल लगायतविरुद्ध जग्गा सट्टापट्टा अनियमिततामा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध यो दोस्रो भ्रष्टाचार मुद्दा हो । पतञ्जलीको जग्गा अनियमितताको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै बेला अख्तियारले अर्को मुद्दा लगेको हो ।

मोरङको सार्वजनिक जग्गा हिनामिनामा मंगलबार दायर अभियोगपत्रमा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री नेपाल, कांग्रेस नेता एवं पूर्वमन्त्री रिजालसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड कम्पनीका नाममा रहेको ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा सरकारले जफत गर्नुपर्नेमा सट्टापट्टा गर्न दिइएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव माधव घिमिरे, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नूरपति कँडेल, हरिराज पन्त, अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई प्रतिवादी बनाइएको छ ।

जग्गा ५ जेठ २०२२ मा नगेन्द्रप्रसाद रिजालको रिजाल क्यानिङ एन्ड कम्पनीका नाममा दर्ता भएको थियो । नेपाल प्रधानमन्त्री भएका बेला फलफूल उद्योगका लागि भन्दै ५९–९ बिघा जग्गा राख्न पाउने गरी सर्तसहित हदबन्दी छुट दिइएको थियो ।