मेयर पदका उम्मेदवार सरदार भोला सिंह भन्छन् “तौलिहवाको मुहार फेर्छु”
तौलिहवा –
कपिलवस्तु नगरपालिकाको मेयर पदका उम्मेदवार सरदार भोला सिंहले आफूलाई अवसर दिए नगरको समग्र विकास र समृद्धिका लागि ठोस काम गरेर देखाउने बताएका छन् ।
उनले नगरको नेतृत्व परिवर्तनसँगै विकासको सोच, कार्यशैली र प्राथमिकतासमेत परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।
देश तथा विदेशको अनुभव संगालेका सिंहले अहिलेसम्म नगरको नेतृत्वमा पुगेकाहरूले विकासभन्दा पनि कार्यकर्ता व्यवस्थापन र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । नगरमा ठोस विकासका योजना र दीर्घकालीन सोचको अभाव रहेको उनको भनाइ छ ।
नेपालकै पुराना बजारमध्ये एक मानिने तौलिहवा बजारको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्भावनालाई उपयोग गर्न नसकिएको बताउँदै सिंहले बजारको व्यवस्थित विकास आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।
उनले तौलिहवा बजारलाई आधुनिक, व्यवस्थित र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न आफू तयार रहेको उल्लेख गरेका छन् । नगरलाई समृद्ध र स्वच्छ बनाउने अभियानसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।
सिंहले सुशासन र पारदर्शिता, सुरक्षित तथा व्यवस्थित सहर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, युवा स्वरोजगार तथा विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
नगरपालिकामा नेतृत्व गर्ने अवसर पाए योजनाबद्ध विकास, प्रभावकारी सेवा प्रवाह र नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कपिलवस्तु नगरपालिकालाई विकासको नयाँ दिशामा अघि बढाउने बताएका छन् ।
‘कार्यकर्ता पाल्ने होइन, जनताको काम गर्ने नेतृत्व चाहिएको छ । तौलिहवाको ऐतिहासिक पहिचान जोगाउँदै आधुनिक र समृद्ध नगर निर्माण गर्न म तयार छु,’ सिंहको भनाइ छ ।