राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मङ्सिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने बताएका हुन् ।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि भएको बताए । पार्टीमा लामो समयदेखि नेतृत्व गर्दै आएका अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
शाहीले राप्रपा पटकपटक आफ्नो विचार र सिद्धान्त नमिल्ने दलहरूसँग चुनावी तालमेल र सत्ता समीकरणमा सहभागी हुँदा कमजोर बन्दै गएको बताए । सत्ता र पदका लागि अन्य दलसँग सम्झौता गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको धारणा छ।
‘अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन, कसैको सत्ताप्राप्तिको सिँढी बन्ने छैन,’ उनले भने, ‘राप्रपा आफ्नो विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा सशक्त राष्ट्रवादी शक्तिका रूपमा अगाडि बढ्नेछ ।’
उनले पार्टीभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे ।