भिजिट नेपाल सफल बनाउन आठ नेपाली राजदूतको प्रतिबद्धता
काठमाडौं । भिजिट नेपाल इयर २०२० को सहयोगमा ओमानस्थित नेपाली दूतावासले विभिन्न देशका नेपाली राजदूतहरू बोलाएर छलफल गरेको छ ।
त्यहाँको दूतावासले जारी गरेको वक्तव्यमा जनाइएअनुसार आइतबार भएको छलफलमा साउदी अरेबिया, यूएई, कतार, बहराइन, कुवेत, इजिप्ट, इजरायल र पाकिस्तानका राजदूतको सहभागिता रहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तरक्रिया कार्यक्रममा भिजिट नेपाल २०२० लाई सफल बनाउन सरकारले चालेका कदमका बारेमा जानकारी गराएका थिए ।
उनले विदेशमा रहेका नेपाली राजदूतहरूलाई पर्यटक भित्र्याउनका लागि थप पहल गर्न आग्रहसमेत गरेका थिए । अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागीले सिर्जनशील उपाय अवलम्बन गरी नेपालको आकर्षणका बारेमा जानकारी दिन र खासगरी युवा पुस्तालाई आकर्षित गर्न आग्रह गरेका थिए ।सहभागी राजदूतहरूले त्यस अवसरमा आफूहरूले आ–आफ्नो देशमा गरिरहेका कामको जानकारी गराएका थिए ।