Connect with us
Kapilvast Forest

बाँकेको नरैनापुरमा आगलागी हुँदा ११५ घर जलेर नष्ट

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

नेपालगन्ज – बाँकेको नरैनापुर गाउँपालिका(४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट भएका छन् ।घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो साढे ३ बजेतिर आगलागीमा परी ४ जना घाइते भएका छन् ।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिनु भयो ।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं। १ मा २४, वडा नं। २ मा १८, वडा नं। ४ मा १० वटा र वडा नं। ६ मा ४ वटा घर जलेर नष्ट भएको बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘धेरैको फुसको छानो भएको घर छन् । पानी नपरेर सुकेको छ । एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष शाहले ‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जालमार्फत अपिल पनि गर्नु भएको छ ।

आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताउनु भयो ।