भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन
काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको ८ करोड ९२ लाख अनुदान सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन गरेका छन् ।
वंशल र अस्पतालका अध्यक्षले नेपालगञ्जमा हालै स्तरोन्नति गरिएको फत्तेबाल आँखा अस्पतालको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनले चैत्र २३ गते दाङ जिल्लाको लमही बजारमा निर्मित राप्ती शित भण्डारको त्यहाँका मेयर तथा नगरपालिकाका अन्य अधिकारीसँग संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
यी दुवै परियोजनाहरु नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको हो । भारत सरकारको नेरु। ४ करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ ।
त्यसैगरी भारत सरकारको नेरु ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैंया लागतमा ३२०० एमटी क्षमताको शित भण्डारको निर्माण गरिएको हो ।
भारत सरकार र नेपाल सरकारबीच कायम भएको सहमति अनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो । नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरु जस्तैं शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाई, सार्वजनिक सुविधा र नेपालका दुर्गम तथा विपन्न क्षेत्रहरुमा कनेक्टिभिटी जस्तैं पुल, क्षमता निर्माण र व्यवसायिक प्रशिक्षण, स्वास्थ्य शिविर जस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्न हेतु प्रस्ताव गरिने कुनै पनि परियोजना जसको लागत नेरु। ५ करोडभन्दा कम छ त्यस्ता परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ भनिन्छ । यी परियोजनालाई नेपाल—भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत लिइन्छ ।
परियोजना क्षेत्रका मानिसहरुलाई सहयोग गर्न र लाभान्वित तुल्याउन यी परियोजनाहरु स्थानीय सरकारमार्फत कार्यान्वयन गरिएका छन् । भारत सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई निकै महत्व दिएका छन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका दश जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण भइरहेका छन् । कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ । स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई भारतले ८२३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।
कृषि पनि प्राथमिकतामा रहेको क्षेत्र हो । नेपालमा आवश्यक पूर्वाधार सिर्जना गर्न हेतु भारत सरकार र नेपाल सरकार एक आपसमा मिलेर काम गरिरहेका छन् ।