संक्रमितले भरिँदै सेती प्रादेशिक अस्पताल
धनगढी-सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । ५० शय्याको अस्पतालमा अहिले ३८ जना उपचाररत छन् । तीमध्ये तीनजनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ ।
अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन् । डेढ सातायता अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भइसकेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक १० जनासम्म संक्रमित भर्ना हुन आइरहेको बताए ।
‘अहिलेकै हिसाबले संक्रमण बढ्दै गए केही दिनमै अस्पताल भरिन्छ,’ श्रेष्ठले भने, ‘५० जनाभन्दा बढीलाई धान्न सक्ने क्षमता अस्पतालमा छैन ।’ उपचाररत केही डिस्चार्ज पनि भइरहेकाले संक्रमितलाई फिर्ता पठाउनुपर्ने अवस्था भने अहिले आइनसकेको उनले बताए ।
गत फागुन अन्तिम सातासम्म अस्पतालमा बिरामीको संख्या शून्य थियो । चैत दोस्रो सातायता भर्ना हुन आउने संक्रमितको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । त्यसयता सयजना संक्रमित भर्ना भइसकेका छन् ।
प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा संक्रमित दर पनि बढेको छ । परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।
अहिलेकै गतिमा संक्रमण फैलिए यहाँको स्वास्थ्य संरचनाले धान्न नसक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । अहिले लक्षणसहितका संक्रमित बढेको उनको भनाइ छ । ‘अस्पताल र आइसोलेसनमा संक्रमितलाई राख्न सीमित बेड छन् । संक्रमण अहिलेकै हिसाबले बढेमा ती संरचनाले धान्न सक्दैन,’ उनले भने, ‘त्यसैले संक्रमणबाट बच्न व्यक्ति आफैँले पनि सुरक्षाका उपाय अपनाउनुपर्छ ।’
अहिले जिल्लाभर तीन सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ८६ जनालाई धनगढीको कनरीस्थित आइसोलेसनमा राखिएको छ । बाँकी होम आइसोलेसनमा छन् ।
कैलालीमा सेतीको कोरोना अस्पतालमा ५०, टीकापुर अस्पतालमा १२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच आइसोलेसन बेड छन् । विद्यालय र सार्वजनिक भवनमा समेत गरी जिल्लाभरि साढे तीन सय आइसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।