एसईई र १२ को परीक्षा हुन्छ, तयारी नछोड्नु
काठमाडौं स् राष्ट्रिय परीक्षा बोर्डले सोमबार अनिश्चितकालका लागि माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको छ। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो।
एसईई परीक्षाका लागि देशभर दुई हजार १४ वटा परीक्षा केन्द्र तोकिएको थियो। तर, पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण परीक्षा समयमा सञ्चालन नहुने भएको छ। जसकारण फेरी परीक्षार्थी अन्योलमा परेका छन्।
के भन्छ बोर्ड ?
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अझै पर धकेलिने सम्भावना रहेको जनाएको छ। बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले परीक्षाको विषयमा अहिले केही भन्न नसकिने बताउनुभयो । ‘अहिले कोरोना संक्रमण बढिरहेको छ,’उहाँले भन्नुभयो ,‘त्यसैले परीक्षा स्थगित गर्यौं,अझै परीक्षा पर धकेलिने सम्भावना बढेको छ।’
कुन मोडालिटीमा परीक्षा हुन्छ भन्ने प्रश्नमा भन्नुभयो ,‘अब कसरी गर्ने भन्ने बारेमा अहिले केही भन्ने अवस्था छैन,कोरोना संक्रमण दरको अवस्था हेरेर मात्रै पछि निर्णय लिन सकिन्छ।’
उहाँ का अनुसार करिब पाँच लाख विद्यार्थीले एसइई दिन तयार भएर बसेका छन्। तर पहिलेजस्तै आन्तरिक मुल्यांकनबाटै नतिजा आउने अपेक्षा धेरै विद्यार्थीले गरेका छन्। तर बोर्डका अध्यक्ष प्रा।डा। पौडेलले परीक्षार्थीहरूलाई परीक्षाको तयारी जारी राख्न भन्नु भएको छ ।
यसअघि आन्तरिक मूल्याङ्कनमा विद्यालयले मनलाग्दी नम्बर दिएपछि त्यो विधि अपनाउनुभन्दा बोर्ड सकभर परीक्षा लिने मै जोड गरेको देखिन्छ।
आन्तरिक मुल्यांकन नै उपयुक्त
कतिपय सरोकारवालाहरूले एसईई परीक्षा सदाको लागि खारेज हुनुपर्ने आवाज उठाएका छन्। सामाजिक सञ्जालमा समेत त्यही माग राखेका छन्। शिक्षाविद् हरुको पनि त्यही मत छ।
शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्,‘अझै कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन,यस्तो अवस्थामा भौतिक उपस्थिति सञ्चालन गर्ने अवस्था छैन,त्यसैले २०७७ को एसइई परीक्षा पनि आन्तरिक मुल्यांकनबाटै गरौं।’
कोरोनाका कारण ०७६ को एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भएको थियो। यसका लागि सरकारले सम्बन्धित विद्यालयलाई जिम्मा दिएको थियो।
यसपाली भौतिक रुपमा परीक्षा सञ्चालन भए अन्याय हुने उहाँको भनाई छ। ‘अघिल्लो वर्षको परीक्षा आन्तरिक मूल्यांकनबाट भयो,फेरि ०७७ को भौतिक उपस्थितिमा परीक्षा गराउँदा अन्याय हुन्छ, यसरी सरकारले भेदभाव गर्नु भएनु,कोइरालाले भन्नुभयो ।
कक्षा–१० को परीक्षा सधैंका लागि विद्यालय स्तरबाट सञ्चालन गर्न पाउनेगरी कानुनी व्यवस्था ल्याउनुपर्ने माग उहाँको छ। भने,‘कक्षा ३,५,८ र १२ को परीक्षा स्तरीकरण गरी सरकारी तहबाट परीक्षा लिने गरौं, गराऔं,एसईई भने खारेज गरौं।’