राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी बन्न बुधबार नेपाल आउनुभएका जयशंकरले राष्ट्रपति निवास शीतल निवास पुगेर बिहीबार बिहान भेटवार्ता गर्नुभएको हो । जयशंकरका साथ नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरी पनि राष्ट्रपति निवास पुग्नुभएको थियो ।
राष्ट्रपति भण्डारी र जयशंकरबीच दुई देशको हितका विविध विषयमा छलफल भएको राष्ट्रपति स्रोतले जनाएको छ ।
जयशंकरले पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराई तथा उप प्रधानमन्त्री उपेन्द्र यादवसँग भेट गर्नुभएको थियो । यसअघि बुधबार नै जयशंकरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।
जयशंकर बिहीबार नै स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले बताएको छ ।