Connect with us
Kapilvast Forest

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

 

विराटनगर – नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने भनिएको बैठकस्थलमा बिहीबार बिहान ११ : ३० बजेतिर तोडफोड भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो ।

 

बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो । तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।

उनले तोडफोडमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप एमाले संस्थापन पक्षको छ । तर नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा संलग्नता अस्वीकार गरेका छन् । ‘हाम्रो समूहमा रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ बास्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइयो ।’

प्रहरीले दिएको जानकारी अनुसार एमाले भातृ संगठन युवा संघ उर्लाबारीमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको समूहले घटना गराएको हो । घटनापछि फरार बनेका उनीहरुको खोजी प्रहरीले गरिरहेको छ । कुमार र एलिन नेपाल समूहमा आवद्ध रहेको जानकारी प्रहरीले प्राप्त गरेको छ । बैठकस्थलको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तोडफोडपछि आन्तरिक व्यवस्थापन मिलाएर बैठक सञ्चालन गरिएको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले बताए । पार्टीको बैठकस्थलमा तोडफोड हुनु अत्यन्तै दुःखद् र खेदजनक रहेको उनको भनाइ छ ।

तर बैठकमा नेपाल समूहका कोही पनि उपस्थित भएनन् । एमालेको केन्द्रमा देखिएको आन्तरिक विवाद समाधान नहुँदा त्यसको असर तलैसम्म पुगेर पार्टीभित्रको अवस्था तनावग्रस्त बनेको बताइएको छ । उर्लाबारीमा भएको यस घटनालाई पनि एमालेभित्र केन्द्रमा देखिएको धु्रवीकरणको असरका रूपमा लिइएको छ । केन्द्रमा देखिएजस्तै पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षले आ-आफ्नो ढंगबाट मोरङमा गतिविधी सञ्चालन गरिरहेका हुन् ।

पछिल्लो समय समानान्तर अभ्यासमा रहेको नेपाल समूहले बेलबारी र उर्लाबारीमा समानान्तर समिति गठन गरिसकेको छ । ओली समूह आगामी भदौ दोस्रो साताभित्र पार्टीको वडा र पालिका स्तरीय अधिवेशन गर्ने तयारीमा लागेको छ । त्यसका लागि साउन १० गते भित्रमा सदस्यता नवीकरण गर्न निर्देशन दिइएको अध्यक्ष पोख्रेलले बताए । उनका अनुसार एमाले मोरङले आगामी भदौ ५ गतेभित्रमा एक सय ५९ वटै वडा कमिटी र भदौ १५ गते मोरङका १७ वटै पालिकाको अधिवेशन गर्ने निर्णय भइसकेको छ ।

एमाले नेपाल पक्षका केन्द्रीय सदस्य महेश रेग्मीले पार्टीभित्रको विवाद समाधान नभइकन ओली पक्षले एकलौटी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । सर्वोच्च अदालतको फैसला बमोजिम एकीकृत (नेकपा माओवादी)सँगको एकता पूर्वको संगठन संरचनामा पार्टीलाई फर्काउनुपर्नेमा अधिवेशन लगायतका कुरा ल्याएर जबरजस्ती निर्णय हुनु अवैधानिक भएको रेग्मीले बताए ।

यसअघि मोरङमा एमालेका २३ हजार पार्टी सदस्य थिए । २०७२ सालमा भएको जिल्ला अधिवेशनपछि कसैको पनि सदस्यता नवीकरण भएको छैन । सर्वोच्चको फैसलापछि एमालेसँग मोरङमा कति सदस्य छन् यकिन तथ्यांक नरहेको स्रोतले बतायो ।

पार्टी विवाद उत्कर्षमा पुग्दा विराटनगरको पाञ्चालीस्थित एमालेको जिल्ला कार्यालयमा नेपाल समूहका नेताकार्यकर्ता नपुगेको बताइएको छ । अन्तैबाट यो समूहले आफ्ना गतिविधि गरिरहेको हो । नेपाल समूहले विराटनगरको तीनपैनीमा महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको छ । ओली समूहले भने सबै गतिविधि पाञ्चालीस्थित पार्टी कार्यालयबाटै गरिरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu