अन्तरजातीय प्रेमविवाह अस्वीकार गरेपछि दलित युवतीले गरिन् आत्महत्या
राजविराज -सप्तरी सुरुंगा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गर्नु भएको छ । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र स्वयं केटाले होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुन्डिएर आत्महत्या गर्नुु भएको थियो ।
एस्तो छ घटना
सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बस्यो । दलित समुदायकी छोरी ज्योती र उच्च जात भनिने ब्राह्मणका छोरा कृष्णको प्रेम गहिरिँदै गयो ।
घरपरिवारमा कसैलाई थाह थिएन । दुवैले सँगै मर्ने बाँच्ने कसम खानु भएको थियो । तर उहाँहरूले समाजमा रहेको जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल हुने देखेनन् । आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतीलाई भगाएर बिहे गर्ने योजना बुन्नु भयो ।
फागुन १० गते राति कृष्णले ज्योतीका घरपरिवार र उहाँको समुदायलाई जानकारी गराउनु भया । ज्योतीलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गर्नु भयो । ज्योतीको परिवारजनलाई जानकारी दिएर दुवै जना घरबाट हिँडे ।
कृष्ण र ज्योती भागेर तीन महिनासम्म अज्ञातबास जस्तै बस्नु भयो । कृष्णले आफ्नो फेसबुकमा ज्योतीसँगको तस्बिर बेला बेलामा पोस्ट गर्दे आउनु भएको थियो । तर आफू बसेको ठाउँको जानकारी कसैलाई दिनु भएन । ज्योतीले घरपरिवारलाई भागेको केही समय पश्चात जनकपुरको एक मन्दिरमा विवाह गरिसकेको बताउनु भएको थियो ।
केही समयपछि ज्योतीले पनि माइतमा फोन गर्न छाड्नु भयो । भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतीले आमा इनरदेवी पासवानलाई फोन गर्नु भयो ।
ज्योतीले दुःखी स्वरमा आमालाई भन्नुभयो , ‘मलाई कृष्णले छाडेर दुई दिनदेखि बेपत्ता हुनुन्छ । मेरो मोबाइल पनि लग्नु भएको छ । पैसाको अभावले खान पाइरहेकी छैन। लजवालाले पैसा तिरेर निस्किन दबाब दिइरहेका छन्। म बिचल्लीमा छु। ठूलो समस्यामा छु।’
बुबा प्रमोदले गाउँ समाजमा छोरीले फोन गरेको जानकारी गराउनु भयो । समाजका केही अगुवासहित भोलिपल्ट इलाका प्रहरी कार्यालय लहानमा पुग्नु भयो । त्यहाँबाट प्रहरीसहित छोरी अलपत्र परेको लजमा पुगे र त्यहाँबाट ज्योतिलाई जिम्मा लिएर घर लग्नु भयो ।
झण्डै दुई महिनादेखि आमाबुबासँग घरमै बस्दै आएकी ज्योति कृष्णसँग कुनै सम्पर्क नहुँदा तनावमा हुनुन्थ्यो । शनिबार बिहान उहाँ खाना पकाइरहेकी हुनुन्थ्यो । घरमा कोही हुनुन्नथ्यो । आमाबुबा घरभन्दा केही पर गाउँमै सानो चियानास्ताको पसल थाप्नु भएको थियो । प्रमोद र इनर नास्ता पसलकै केही सामान किन्न करमाहा भन्ने ठाउँमा पुग्नु भएको थियो ।
जेठी छोरी आरतीले बुबालाई फोन गरेर घरमा चाँडो आउनुस् भन्नु भयो । घर पुग्दा छोरीको अवस्था देखेर बुवा आमाको होसहवास उड्यो। करिब ८ बजे भान्छा कोठामा सलले पासो लागेको अवस्थामा ज्योतीको शव फेला पर्यो।
घटनापछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उहाँको परिवारलाई कारबाहीको माग छ । ज्योतीलाई प्रेममा पारेर चार महिना यौन शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतीले आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ ।
ज्योतीका आमा दलित भएका कारण छोरीलाई मिश्र परिवारले अस्वीकार गरेकाले आत्महत्या गर्न बाध्य भएकी भन्दै घटनाको छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नु भयो । उहाँले मिश्र परिवारले कृष्णासँग छोरीसँगको सम्बन्ध बिच्छेद गर्न षड्यन्त्र गरी ज्वाईँलाई समेत बेपत्ता पारेको आरोप लगाउँदै उहाँले छोरीलाई मानसिक यातना दिएका कारण छोरीलाई आत्माहत्या गर्न बाध्य बनाएको बताउनु भयो ।
घटना सम्बन्धमा जानकारी लिन कृष्णाका बुवा अखलेश मिश्रालाई घरमा खोज्दा भेटिनु भएन । उहाँलाई टेलिफोन सम्पर्क गर्दा जनकपुर काम विशेषले गएको बताउँदै घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताउनु भयो । छोरा चार महिनादेखि सम्पर्क विहीन रहेको जानकारी दिँदै उहाँले घर फर्केपछि अरु कुरा हुने बताउनु भयो ।
कारबाही गर्न माग
ज्योतीका बुबा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन र जातीय भेदभाव तथा कसुर सजाय ऐन, २०६८ अनुसार कारबाही गर्न उजुरी दिने तयारी गर्नु भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घटनाबारे अनुसन्धान गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘कानुनअनुसार कारबाही गर्न हामीले प्रक्रिया अघि बढाइसकेका छौँ ।’