रुपन्देहीबाट २ करोड ३५ लाख बढीको नक्कली स्टिकर बरामद
रुपन्देही-सशस्त्र प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकर सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनु भयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवाको एउटा घरमा अवैध मालबस्तु लुकाइएको भन्ने विशेष सूचनाको आधारमा हिजो सशस्त्र प्रहरी निरिक्षक अर्यालको कमाण्डमा उक्त घरमा खानतलाशी गरिएको थियो । खानतलाशीबाट उक्त नक्कली स्टिकरको रहस्य खुलेको हो । पक्राउ परेको स्टिकरमा आन्तरिक राजस्व विभाग लेखिएको र उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबर रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको एसपी उप्रेतीको भनाई छ ।
५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकर मध्ये आयकरको १० लाख बराबर, मुल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबै भन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर रहेको छ ।
स्टिकर संगै सशस्त्र प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा बस्ने २३ वर्षीय साहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेको उप्रेतीले ग्लोबल आवाजलाई जानकारी दिनु भयो । पक्राउ परेका ब्यक्तिहरुको बयानकै आधारमा उक्त समान ढुवानी गर्न प्रयोग गरिएको लु२च २५० नम्बरको गाडी तथा गाडीमा रहेको मालबस्तु समेत नियन्त्रणमा लिइ स्टिकर सहित राजस्व अनुसन्धान कार्यालयमा थप कार्यवाहीको लागी पठाईएको जानकारी दिनु भयो ।