बहुविवाह गर्ने १२ वर्षपछि पक्राउ
लमजुङ – बहुविवाह गरी फरार रहेका २ जना प्रतिवादीलाई लमजुङ प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका–९ साम्दीका ४४ वर्षीय खड्कबहादुर कामी र उनका कान्छी श्रीमती ३५ वर्षीया मीना भन्ने सुमिला विकलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार मुद्दा परेपछि फरार उनीहरू अहिले गाउँमै रहेको सूचना पाएपछि शुक्रबार प्रहरीले पक्राउ गरी ल्याएको हो ।
अदालतले २०६६ असार २४ गते जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । पक्राउ परेका दुवै जनालाई शुक्रबार नै अदालतमा पेस गरिएको र कैद भुक्तानका लागि कारागार चलान भएको इन्स्पेक्टर रेग्मीले बताउनु भयो ।
डीएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीले फरार अपराधी पक्राउ गर्ने अभियान नै थालेको छ । एक साताअघि मात्रै प्रहरीले ६ जना फरार अपराधीलाई पक्राउ गरेको थियो । यसमा लागूऔषध ओसारपसारका ९ वर्ष, बहुविवाहका २० वर्षदेखि फरार अपराधी थिए ।