Connect with us
Kapilvast Forest

ओली पक्षले फैलाएका ‘भ्रम’ चिर्न एकीकृत समाजवादीले अभियान चलाउने

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

  काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली पक्षले फैलाएका ‘भ्रम’हरूको खण्डन गर्न र पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्ने तथा जनता र कार्यकर्ताको बीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक रूपमा प्रचार अभियान चलाउने उल्लेख छ । यसलाई समाजवादीले तत्काल गर्नुपर्ने काममा सूचीकृत गरेको छ ।

 

अलग पार्टी बनाउने उद्देश्यअनुसार दुई महिने अभियान

एमालेमा रहँदा माधव नेपाल पक्षले २०७७ चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर देशव्यापी रुपमा दुई महिने संगठन निर्माण अभियान चलाएको थियो । यो अभियान अलग पार्टी बनाएर जाने उद्देश्यअनुसार नै गरेको एकीकृत समाजवादीले जनाएको छ ।

‘त्यतिबेला नै तुरुन्तै अलग पार्टी गठन गर्नुपर्छ भनेर जोडदार रुपमा कुरा उठेको थियो र निर्वाचन आयोगमा दुईवटा पार्टी दर्ता पनि गरिएको थियो । हामीले निर्वाचन आयोगमा पार्टीको विवाद निरुपण गरिदिन निवेदन पनि दिएका थियौं । यी सम्पूर्ण काम हामीले एकता कायम नभएको अवस्थामा अलग पार्टी बनाएर जाने उद्देश्य राखेर नै गरेका थियौं,’ अपानीमा लेखिएको छ ।

‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने आह्वानका साथ चलाइएको अभियानको क्रममा समानान्तर रुपमा प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क विशेष प्रदेश कमिटी र जिल्ला कमिटीहरु गठन गरिएको थियो । यसैगरी पेशागत, मजदुर, उद्योग व्यवसाय र युवा विद्यार्थी विशेष जिल्ला कमिटी पनि गठन गरिएको थियो ।

यसअघि देशभर नेकपा एमालेको समानान्तर कमिटीको रुपमा गठन भएका सबै तहका पार्टी कमिटीहरुलाई नेकपा एकीकृत समाजवादीको रुपमा रुपान्तरण गर्न पनि अपानीमा भनिएको छ । त्यसरी नै सबै जनवर्गीय संगठनका सबै तहका कमिटीहरु पनि नेकपा एकीकृत समाजवादीको भातृ/भगिनी संगठनमा रुपान्तरण गरेर व्यवस्थित रुपमा सुचारु गर्न भनिएको छ ।

नयाँ पार्टी गठन ‘जायज विद्रोह’

केपी ओली पक्षले एकता गर्न नचाहेपछि विद्रोह गरेको र त्यो जायज भएको एकीकृत समाजवादीको अपानीमा उल्लेख छ । ‘हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गर्यौं तर केपी ओली पक्षले एकता गर्न नचाहेपछि पार्टी र आन्दोलनलाई जोगाउन नेकपा एमालेको पुनर्गठन एवम् रुपान्तरण गर्दै नेपाल कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गठन गर्न बाध्य भयौं । यो हामीले कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरेको जायज विद्रोह हो,’ अपानीमा लेखिएको छ ।

कम्युनिष्ट आन्दोलन कमजोर बन्दा झापा संघर्ष, मुक्तिमोर्चा विद्रोह, बर्रे संघर्ष आदि गरेर पार्टी पुनर्गठन अभियान चलाएको स्मरण गर्दै समाजवादीले भनेको छ, ‘आज फेरि नेपाली कम्युनिष्ट आन्दोलनलाई केपी ओलीले दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले त्यसबाट आन्दोलनलाई बचाउनका लागि निम्ति विद्रोह गर्नु अनिवार्य भएकाले यो विद्रोह भएको छ ।’

अब पार्टीलाई सही राजनीतिक कार्यदिशा अनुरुप अगाडि बढाउने, कम्युनिष्ट पार्टीको क्रान्तिकारीकरण गर्ने, कम्युनिष्ट संस्कार, संस्कृति र आचरणको विकास गर्ने काममा विशेष ध्यान दिनुपर्ने समाजवादीले उल्लेख गरेको छ । उसले कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सफलता प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu