स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु
सप्तरी -पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नंको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यता दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।