राजनीतिक दलहरूबीच सहमतिबिना एमसिसी पास हुँदैन: परराष्ट्रमन्त्री खड्का
उदयपुर – परराष्ट्रमन्त्री डा। नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसिसी पास हुने बताउनु भएको छ ।नेपाल प्रेस युनियनले सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक दलहरुको सहमतिबिना एमसिसी पास गर्न सम्भव नभएको बताउनु भयो ।
‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसिसी भएकाले एमसिसी पास गर्नु आवश्यक छ,’ उहाँले भन्नु भयो ‚ ‘तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसिसी पास हुन्छ।’
एमसिसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसिसी पास हुने मन्त्री खड्काले बताउनु भयो ।
उनले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो । मन्त्री खड्काले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताउनु भयो ।
यस्तै‚ त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको उहाँले जानकारी दिनु भयो । सुनसरीसहित प्रदेश नं १ का विभिन्न जिल्लाको भ्रमण गर्दै मन्त्री खड्का शनिबार उदयपुर आउनु भएको छ ।