वाग्मतीका मुख्यमन्त्री पाण्डेले माग्नुभयाे विश्वासकाे मत
मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज साेमवार प्रदेश सभामा विश्वासको मत माग्नुभएकाे छ । सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेर विश्वासकाे मत माग्नुभएकाे हाे ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे हाे ।
त्यही क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले लामो समयसम्म सरकारको नेतृत्व गर्नेहरूबाट नागरिककाे हितका लागि कुनै पनि काम हुन नसकेको र आफ्नो नेतृत्वमा वाग्मती प्रदेशले काँचुली फेर्ने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयाे ।
उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताउनुभयाे । मुख्यमन्त्री पाण्डेले प्रदेशको हैसियत माथि उठाउन, प्रदेश सभा सदस्यहरूको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताउनुभयाे ।
नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी ५९ सांसदको साथ रहेको छ । प्रदेशमा एक सय नाै सांसद छन् । पाण्डेलाई सरकार टिकाउन ५५ सांसदको साथ आवश्यक पर्दछ । गठबन्धनको ५९ सांसदको साथ पाउनुभएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ ।