मंसीर ४ मा नेकपा (एस) शिवराज नगर कमिटीले प्रथम अधिवेशन गर्दै
कपिलवस्तु-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिवराज नगर कमिटी कपिलवस्तुको प्रथम अधिवेशन मंसीर ४ गते शनिबार हुने भएको छ । पार्टीको आधार इलाकाका रुपमा रहेको शिवराजमा प्रथम अधिवेशनको मिति नजिकिदै जादा पार्टी कामले तिव्रता पाएको छ । ११ वडा रहेको शिवराजमा ६ वटामा वडा कमिटी गठन भैसकेको शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।
बाँकी वडामा पनि छिट्टै वडा कमिटी गठनको तयारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो । शिवराज मधेसी, मुस्लिम, पहाडीया र थारु समुदायको मिश्रित बसोबास रहेको लुम्बिनी प्रदेशकै प्रमुख व्यवसायिक गन्तव्य स्थान हो ।
कृष्णनगर नगरपालिकासंग सटेको शिवराजमा चन्द्रौटा बजार क्षेत्र पर्दछ । नेकपा (एस) को प्रभाव क्षेत्रका रुपमा पछिल्लो समय दहरिएको शिवराजमा मंसीर ४ गते शनिबार अधिवेशन मार्फत पार्टीको नयाँ नेतृत्व आउने नगर इन्चार्ज छविलाल शर्माले जानकारी दिनुभयो । हाल जिल्ला पार्टीले नगर अध्यक्षको रुपमा सरोज पौडेल र इन्चार्जको रुपमा छविलाल शर्मालाई जिम्मेवारी तोकेको छ । अब अधिवेशन मार्फत पदाधिकारीसहित सिंगो नगर कमिटी निर्माण हुन लागेको हो ।