एमालेको शपथ ग्रहण र पहिलो बैठक सौराहामै हुने
काठमाडौँ — नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने भएको हो ।
यतिबेला बिहान सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनु भयो । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।