महाधिवेशनको नाममा चुनावको तयारी भइरहेको छ: प्रचण्ड
बुटवल -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आगामी आम निर्वाचनको तयारीमा लागेको बताउनु भएको छ ।
पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई बुटवलमा सम्बोधन गर्दै प्रचण्डले मुलुक चुनावतिर जान लागेको र आफ्नो पार्टीले पनि त्यसको तयारी गरेको बताउनु भयो ।
उहाँले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउनु भयो । उहाँले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखे । ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ’ प्रचण्डले भन्नु भयो ।
उहाँले मुलुक समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताउनु भयो ।स्वर्गीय नेता बन्जाडे सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्यक्ति भएको भन्दै उहाँको जीवनशैलीबाट कार्यकर्ताले सिक्नुपर्ने बताउनु भयो ।